काठमाडौं- देशको आयात-निर्यात व्यवस्था नियमन गर्न तथा व्यापारमा सहजता ल्याउन सरकारले निकासी-पैठारी सूचित आदेश परिमार्जन गरेको छ।
२०६६ कार्तिक १६ गतेको राजपत्रमा प्रकाशित सूचना करिब १ दशक अवधिपछि अद्यावधिक गरिएको हो। जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले निकासी-पैठारी सम्बन्धी सूचित आदेश परिमार्जन गर्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार आयात-निर्यातमा पूर्ण बन्देज लगाउने, आंशिक बन्देज लगाउने र परिमाणात्मक बन्देज लगाउने वस्तुसम्बन्धी व्यवस्थामा हेरफेर भएको छ।
निकासीमा पूर्ण बन्देज लगाएका वस्तुमा लागुऔषध नियन्त्रण ऐन, २०३३ ले लागुपदार्थ भनी परिभाषित गरेका सबै वस्तु, औद्योगिक, मेसिनरी, पाटपूर्जा तथा कच्चा पदार्थअन्तर्गत काँचो छाला रहेका छन्।
यसअघि, मादक पदार्थलाई पनि निकासीमा पूर्ण बन्देज लगाएकोमा अहिले त्यसलाई हटाइएको छ।
त्यसैगरी, झ्याउको निकासीका हकमा विना प्रशोधन र सम्बन्धित निकायको स्वीकृति विना निकासी गर्न नपाइने व्यवस्थाको सट्टा वनस्पति विभागको सिफारिसमा वन तथा भू-संरक्षण विभागले स्वीकृति दिए निकासी गर्न पाउने नयाँ व्यवस्था सरकारले गरेको छ।
यसअघि चामलको निकासीमा परिमाणात्मक बन्देज लगाइएको थियो। तर अब ‘हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित निकायको सिफारिसमा निकासी गर्न परिमाणात्मक बन्देज लाग्ने छैन,’ भन्ने वाक्यांश राखिएको छ।
त्यसैगरी, रहरलगायतका दालजन्य वस्तुको निर्यातसमेत खुला गरिएको छ।
यसअघि बीस माईक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोलाको आयातमा बन्देज लगाइएको थियो। अब तीस माईक्रोनभन्दा कम मोटाईका प्लास्टिक झोलाको पैठारीमा पूर्ण बन्देज लगाइएको छ।
क्याफिनयुक्त शक्तिवर्धक पेयपदार्थको आयातमा पनि पूर्ण बन्देज लगाउने सरकारले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।