स्वास्थ्य क्षेत्रका नेपाली कामदार पठाउन ओमानको आग्रह 

नेपाल लाइभ | २०७६ असार ३ मंगलबार | Tuesday, June 18, 2019 १५:२८:०० मा प्रकाशित

काठमाडौं- नेपालीका लागि रोजगारीको आर्कषक गन्तव्य ओमानमा स्वास्थ्य क्षेत्रमा नेपाली कामदार पठाउन उसले आग्रह गरेको छ।

सोमबार ओमानस्थित नेपाली राजदूत शर्मिला ढकाल र ओमानका स्वास्थ्यमन्त्री डाक्टर अहमद बिन मोहम्मद पवन ओबइड अलसादीबीच भएको शिष्टाचार भेटका क्रममा अलसादीले सो कुरा बताएका हुन्

'स्वास्थ्य क्षेत्रमा व्यावसायिक कामदार पठाउन ओमनले आग्रह गरेको छ,' भेटमा सहाभागी भएका एक कर्मचारीले भने। 

भेटमा राजदूत ढकाल र मन्त्री अहमद बिनबीच ओमानमा स्वास्थ्य क्षेत्रमा राम्रो रोजगारीको अवसरबारे छलफल भएको थियो। 

मन्त्री अहमदले नेपालबाट अनुभवषी डाक्टर, नर्स, ल्याब टेक्निसियन र फार्मेसिस्ट लैजाने प्रस्ताव उनले गरेका थिए। 

मन्त्रीको प्रस्तावमा राजदूत ढकालले नेपाल सरकार र ओमान सरकारबीच श्रम समझदारी व्यवसायिक कामदारहरु पठाउन पहल गरिने बताएकी थिइन्।

ओमानसँग सरकारले पहिलो पटक श्रम समझदारी गरेर कामदार पठाउने तयारी गरेको छ।

जसका लागि श्रम समझदारीका मस्यौदाका बुँदामा समेत टुंगो लागिसकेको छ।

अब ओमान र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षरको मिति तय गर्न बाँकी छ।