एजेन्सी- युरोपेली फुटबल संघ (युइएफए)का पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन्। सन् २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी कतारलाई दिने क्रममा भ्रष्टाचार गरेको आरोप लागेका उनलाई छानबीनका लागि पक्राउ गरिएको हो।
प्लाटिनी सन् २००७ मा संघको अध्यक्षमा चुनिएका थिए। युरोपेली फुटबल संघको अध्यक्ष हुने उनी एक मात्र पूर्व खेलाडी हुन्। कुनै बेलाका फ्रान्सका प्रसिद्ध फुटबल खेलाडी रहेका उनले आफ्नो खेलाडी जीवनपछि ४ वर्ष फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको भूमिका निभाएका थिए।
२०१५ सम्म उनी युइएफएको अध्यक्षकै रुपमा कार्यरत थिए। विश्व फुटबल महासंघ (फिफा)को इथिक्स कमिटिले उनीमाथि प्रतिबन्ध लगाएपछि भने उनी पदमुक्त भएका थिए।
उनले फिफाको प्राविधिक तथा विकास समितिको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन्। सन् २०१५ सम्म उनी फ्रान्सको फुटबल एसोसियसनको उपाध्यक्ष समेत थिए। आफ्नो स्वार्थलाई बढावा हुनेगरी कार्यसम्पादन गरेको पाइएपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो।
प्लाटिनीलाई मंगलबार बिहान हिरासतमा लिइएको अन्तर्रष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ६३ वर्षीय प्लाटिनीलाई फ्रान्स प्रहरीले पश्चिम पेरिसको नान्तिरबाट पक्राउ गरेको हो।
फ्रान्सको अनुसन्धानमुलक पत्रिका मिडियापार्टका अनुसार प्लाटिनीलाई भ्रष्टाचार सम्बन्धमा छानबीनका लागि नियन्त्रणमा लिइएको हो। (तस्बिर- स्काई न्युज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।