– काशीराम शर्मा/रासस
बाँके- स्थानीय तहबाट सम्पादन गरिएका कामका सम्बन्धमा भएका अनियमितता सम्बन्धमा अख्तियारमा उजुरीको चाङ नै लागेको छ। ३ जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा मात्रै चालू आव २०७५/७६ मा स्थानीय तहका १ सय १६ वटा उजुरी दर्ता भएका छन्।
चालू आवमा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा दाङ, बाँके र बर्दियाका कूल ३ सय ३८ वटा उजुरी परेका छन्। सङ्घीय व्यवस्थापछि स्थानीय तहमा विभिन्न कार्यालय गाभिए। विकास निर्माणसँगै स्वास्थ्य र शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा छ। बजेटको उपलब्धतासँगै स्थानीय तहबाट भएका काममा उजुरी पर्ने क्रम पनि बढेको हो।
अख्तियारमा बाँकेमा मात्रै ७० वटा उजुरी छन्। बर्दियाका २० र दाङका २६ वटा उजुरी चालू आवमा दर्ता भएका छन्। बाँकेमा सबैभन्दा बढी खजुरा गाउँपालिकाको काम कारबाहीमा २१ वटा उजुरी परेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको १६, कोहलपुर नगरपालिकाको ९, बैजनाथ गाउँपालिकाको ३, जानकी गाउँपालिकाको २, राप्तीसोनारी गाउँपालिकाको ७, नरैनापुर गाउँपालिकाको ५ र डुडुवा गाउँपालिकाको ३ उजुरी परेका छन्। दाङमा तुलसी उपमहानगरपालिकाको ८, घोराही उपमहानगरपालिकाको ३, लमही नगरपालिकाको ५, बङ्गलाचुली गाउँपालिकाको १, राजपुर गाउँपालिकाको ३, राप्ती गाउँपालिकाको १, शान्ति नगर गाउँपालिकाको ४ र बबई गाउँपालिकाको ३ वटा उजुरी अख्तियारमा परेको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बर्दियाको गुलरिया नगरपालिकाको ७, मधुवन, बारबर्दिया र राजापुरको एक/एक, ठाकुरबाबा गाउँपालिकाको ३, बढैयाताल र गेरुवा गाउँपालिकाको २ वटा उजुरी अख्तियारमा परेका छन्। 'प्राप्त उजुरीहरुमा आवश्यक कारबाहीहरु गरिरहेका छौँ,' अख्तियारका सूचना अधिकारी पौडेलले भने। ३ जिल्लाको जिम्मेवारी पाएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा उजुरी हेर्ने प्रमुखसहित ३ जना कर्मचारी मात्रै छन्।
बाँकेमा स्थानीय तहबाहेक अन्य कार्यालयका १ सय २२ उजुरी दर्ता भएका छन्। बाँकेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धित कार्यालयका २७ उजुरी अख्तियारमा दर्ता भएका छन् भने बर्दियामा १९ र दाङमा १२ वटा उजुरी परेका छन्। ३ जिल्लामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यालयहरुका ४३ उजुरी परेको सूचना अधिकारी पौडेल बताउँछन्। जसमा बाँकेमा २१, बर्दिया र दाङमा ११/११ वटा उजुरी छन्।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मातहतका कार्यालयहरुको उजुरी बाँकेमा १८, बर्दियामा ८ र दाङमा ४ वटा रहेका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरुको बाँकेमा १० र दाङमा एक वटा उजुरी परेको जनाइएको छ।
अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारबाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ। भ्रष्टाचारको गुनासोपछि अख्तियारले ‘स्टिङ अपरेसन’मार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्र्यापमा पार्ने गरेको छ।
चालू आवमा अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले १२ वटा स्टिङ अपरेसन गरेको सूचना अधिकारी पौडेल बताउँछन्। अख्तियारले बाँकेमा ७, बर्दियामा ३ र दाङमा २ वटा स्टिङ अपरेसन गरेको जनाएको छ। 'नागरिकबाट भ्रष्टाचारको गुनासो आइरहने कार्यालयमा हाम्रो टिमले निगरानी गरिरहेको हुन्छ,' पौडेलले भने। (तस्बिर- न्युज सेवा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।