कालीकोट– प्रहरीसँगको झडपमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि कालीकोट सदरमुकाम मान्ममा उत्पन्न तनावलाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु आइतबार २ घन्टाका लागि हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि २ घन्टासम्म कर्फ्यु हटाइएको बताएको छ। प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार बिहान ८ देखि १० बजेसम्म छलफलका लागि अनुरोध गरेको र सो समय कर्फ्यु हटाइएको बताए।
पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच बिहान १० बजे छलफल सुरु हुने र मन्त्रिपरिषदले गरेको निर्णयअनुसार प्रक्रिया अगाडि बढ्ने बताउँदै प्रजिअ गैह्रेले वार्तामा आउन अनुरोध गरेका छन्।
शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नुका साथै ढुंगामुडा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यु लगाइएको थियो। अहिले कालीकोटको अवस्था सामान्य छ।
नागरिक समाज र सरोकारवाला निकायले सरकारले पीडित पक्षका माग सम्बोधन गरेकाले अब प्रक्रिया पूरा गरेर शव बुझेर आन्दोलनलाई स्थगन गर्ने बताएका छन्। नागरिक समाजका प्रवानन्द आर्चायले केन्द्रबाट अनुगमन टोली आएपछि निर्णयमा पुगेर मात्र शव बुझ्ने बताए।
समस्या समाधानका लागि शनिबार क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका डिआइजी सूर्यविक्रम शाह, अनुसन्धानका डिआइजी टेकेन्द्र शाक्यले समेत समस्या समाधानका लागि पहल गरेका थिए।
पीडित पक्ष, जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधिले जिल्लामा मात्र सहमति गरेर नहुने र मन्त्रालयबाट पनि निर्देशन आउनुपर्ने बताएपछि बैठक स्थगित भएको थियो।
म्यादी प्रहरीको बिदाइ कार्यक्रममा पारिश्रमिको विषयमा विवाद हुँदा शुक्रबार कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा म्यादी प्रहरी ऐडीको मृत्यु भएपछि कालीकोट तनावग्रस्त बनेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।