राजविराज– मंगलबार विहानको हावाहुरी र वर्षाका कारण सप्तरीमा झन्डै ५० लाख मूल्य बराबरको क्षति भएको छ। बिहान करिब ४ बजेदेखिको हावाहुरीका कारण सवारीसाधन, इँटाभट्टा, बिजुलीका तार/पोलमा क्षति भएको छ भने सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा बिजुलीको पोल लडेर ना ५ ख ५९५१ नम्बरको ट्रकमा क्षति भएको छ। यसैगरी खडक तथा शम्भुनाथ नगरपालिकामा हावाहुरीले सर्वसाधारणको घर भत्काउँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर सन्तोष खड्काले जानकारी दिए। विवरण संकलन कार्य जारी रहेकाले परिमाण थप हुन सक्ने उनको भनाइ छ।
बिजुलीमा ३५ लाखको क्षति
हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।
जिल्लाका विभिन्न स्थानमा ३० वटा पोल लडेको र तार चुँडिएको जानकारी आइरहेको वितरण केन्द्र प्रमुख चन्द्रनारायण साहले बताए। ‘अवरुद्ध भएको बिजुली सुचारु गराउँदै क्षतिको थप विवरण संकलन पनि गरिरहेका छौं,’ उनले भने, ‘तार, पोलसँगै ट्रान्सफर्मरमा पनि क्षति भएको छ।’
हावाहुरीका कारण अवरुद्ध भएको मेन लाइन (११ हजार भोल्ट) सञ्चालनमा आइसकेको र अन्य ठाउँमा पनि विद्युत सुचारु गराउन प्रयास भइरहेको साहले जानकारी दिए।
‘तार मात्रै चुँडिएका ठाउँमा आज बेलुकासम्म बिजुली सञ्चालन भइसक्छ,’ उनले थपे, ‘पोल लडेका र भाँचिएका ठाउँमा भोलिसम्म लाग्ला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।