एजेन्सी– विश्वकप क्रिकेटमा बंगलादेशले वेष्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। बंगलादेशले पच्छ्याएको ३ सय २२ रनको लक्ष्य ४१ दशमलब ३ ओभरमा पूरा गर्दै सानदार जित हासिल गरेको हो।
बंगलादेशको जितमा शकिब अल हसन नायक बने। शकिबसँगै लिट्टन दासले पनि सानदार पारी खेलेपछि बंगलादेशले सानदार जित हात पारको हो। विस्फोटक ब्याटिङ गरेका शकिबले १ सय २४ रन बनाए भने लिट्टन ९४ रनमा अविजित रहे।
बंगलादेशको सुरुवात मध्यम थियो। तमिम इकबाल ४८ र सौम्य सरकार २९ रनमा आउट भएका थिए। बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो। सौम्य सरकारलाई ९ ओभरमा आन्द्रे रसेलको बलमा क्रिस गेलको हातबाट क्याच गराउँदै वेष्टइन्डिजले पहिलो विकेट लिएको थियो।
त्यसपछि क्रिजमा आएका शकिबले विस्फोटक ब्याटिङ गर्दै बंगलादेशलाई जिततर्फ डोर्याएका थिए। १८ ओभरमा तमिम इकबाल रनआउट भए। त्यसपछि क्रिजमा आएका मुशफिकुर रहिम १ रनमै आउट भएपछि बंगलादेश दबाबमा आएको थियो।
तेस्रो विकेटपछि ब्याटिङ गर्न आएका लिट्टन दास र शकिबले उत्कृष्ट ब्याटिङ गर्दै बंगलादेशलाई जिताएका थिए।
शकिबले ९९ बलमा १ सय २४ रन बनाए भने लिट्टन दासले ६६ बलमा ९४ रनको पारी खेले। बंगलादेशले ४१ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। जितसँगै बंगलादेश ५ खेलबाट ५ अंक बटुलेर अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ।
यसअघि पहिलो ब्याटिङ गरेको वेष्टइन्डिजले साइ होपको ९६, एर्भिन लेविसको ७० र हेटमेयरको ५० रनको मदतमा ३ सय २१ रनको योगफल तयार गरेको थियो। वेष्टइन्डिजको ५ खेलबाट ३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।