एउटै पेनाल्टी २ पटक प्रहार गर्न पाएपछि चम्कियो फ्रान्सको भाग्य, विजेता बन्दै अन्तिम १६ मा

नेपाल लाइभ | २०७६ असार ३ मंगलबार | Tuesday, June 18, 2019 ०८:४१:०० मा प्रकाशित

एजेन्सी– फ्रान्स महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। एउटै पेनाल्टी दुईपटक प्रहार गरेपछि नाइजेरियालाई हराउँदै समूह 'ए' विजेता बनेर फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको हो।

खेलको ७५औं मिनेटमा नाइजेरियाका खेलाडी इवेरी दोहोरो पहलो कार्ड खाँदै मैदान बाहिरिएपछि नाइजेरिया १० खेलाडीमा सिमित भएको थियो। त्यसको ४ मिनेटपछि ७९औं मिनेटमा फ्रान्सले पेनाल्टी पाएको थियो।

फ्रान्सकी विन्डी रेनार्डले पेनाल्टी प्रहार गरेकी थिइन्। रेनार्डले प्रहार गरेको बल नाइजेरियाकी गोलरक्षक चिएमाका नाडोजोएले रोकिन्। बल हान्नु पहिले नै गोलरक्षक चिएमाकाले लाइन एरिया छाडेको भन्दै रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए। र पुनः पेनाल्टी हान्ने मौका पाएको फ्रान्सले गोल गर्दै १–० को जित हात पार्‍यो।

जितसँगै समूह 'ए'मा रहेको फ्रान्स समूह विजेता बन्दै र नर्वे उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्।

नाइजेरिका ३ अंकसहित तेस्रो स्थानमा छ। उत्कृष्ट तेस्रोबाट अन्तिम १६ मा पुग्ने आशा नाइजेरियामाथि छ।

समूह 'बी'मा रहेको जर्मनी आफ्ना ३ वटै खेल जित्दै समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ। सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई जर्मनीले ४–० ले हराएको थियो। एक खेलमा जित, एक हार र एक बराबरीमा रोकिएको समूह 'बी' मै रहेको स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ।

अब समूह सी, डी, इ र एफबाट अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्न बाँकी छ।