काठमाडौं– जेबी दर्लामी उपन्यास ‘यात्री’ सहित पाठकमाझ आएका छन्।
शनिबार राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समीक्षक रुपक अलंकारले संयुक्तरुपमा लोकार्पण गरे।
पुस्तकमाथि टिप्पणी गर्दै कवि श्यामलले किताबको भाषा लोभलाग्दो र विषय नयाँ रहेको बताए।
‘यहाँदेखि मंगोलियासम्मको यात्राबारे लेखकको ‘डकुमेन्टसन’ र ‘काल्पनिकी’ सजीव छ’, उनले भने, ‘यो किताबमा गन्तव्यको खोजीमा हिँडेको रुमानी सभ्यताको चित्रण छ।’
श्यामलले उपन्यासले मंगोलजाति र प्रकृतिबीचको गहिरो सम्बन्ध देखाएको उल्लेख गरे।
पुस्तकमाथि बोल्दै पत्रकार बस्नेतले उपन्यासले एउटा आध्यात्मिक यात्राको परिकल्पना गरेको टिप्पणी गरे।
‘पृथक् जातीय राज्यको परिकल्पना विरुद्ध बगेको किताबले त्यसको बैठानको बीचको मध्यबिन्दु खोजेको छ’, उनले भने, ‘किताबले भन्छ – प्रेम त सबैलाई गर्नुपर्छ, आफ्नै नश्ललाई मात्र किन? बरु यसो भनौ न, हामीभन्दा भिन्न रुपरङका मानिस अनि तिनका परम्परा र संस्कृतिलाई बुझ्ने मौका पाइन्छ।’
पुस्तकमाथि बोल्दै कुमारी लामाले किताबमा बाह्यका साथै आन्तरिक मनोवैज्ञानिक यात्रा रहेको भन्दै विभिन्न ठाउँमा दार्शनिक बहस पनि रहेको उल्लेख गरिन्।
उनले भनिन्, ‘यो इस्यु बेस्ड पुस्तक नभए पनि यसले माइग्रेसनको कुरा उठाउँछ, जहाँ तिब्बतीहरुको पीडाको चित्रण छ। यो किताब आइडेन्टिटी क्राइसिसमा परेका विस्थापितहरुको पीडाको खोजी हो।’
यस्तै, रुपक अलंकारले उपन्यासभित्रको यात्री प्राचीन वंश खोज्दै हिँडेको भन्दै उपन्यासको विषयले सबैभन्दा बढी छोएको चर्चा गरे।
‘मान्छेले कृषिकर्म पनि गर्न नथाली उनका पूर्खा या कविलाको कथा वर्णन छ, जुन कठिन यात्राकै रुपमा आएको छ’, उनले भने, ‘यसमा समाज विकासको चरणमा देखा परेको आर्य सभ्यता र मंगोल सभ्यताको कथा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।