उद्धार गर्न गएका स्थानीय। अप्ठेरो भिरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो।
बझाङ- जिप दुर्घटनामा परी मृत्यु भएका ९ जनाकै सनाखत भएको छ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका-१ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको थियो।
मृत्यु हुनेमा बाबुछोरा समेत छन्। मष्टा गाउँपालिकाका कलकबहादुर खड्का र उनका छोरा दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो।
यसैगरी, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वालको समेत घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चैनपुरका नायव निरीक्षक महानन्द जोशीले जानकारी दिए।
घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको उनले जानकारी दिए। मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न केही ढिलाइ भएको थियो।
समिट एयरलाइन्सको हेलिकोप्टरमार्फत् उनीहरुलाई नेपालगञ्ज लगिएको प्रहरीले पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।