काठमाडौं– सीमावर्ती बासिन्दाले भोग्नुपरेका समस्या र त्रासदीलाई आधार बनाएर लेखिएको रविन्द्र कार्कीको उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणीन्द्र संगम, डोलेन्द्र थापा लगायतले पुस्तकको विमोचन गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ कवि काइँलाले मेची सिमानाको सामाजिक कथालाई लेखकले मिहीन ढंगले औपन्यासिक रुपमा प्रस्तुत गरेको बताए।
‘पूर्वी नेपालको झापाका गाउँहरुलाई परिवेश बनाएर चार दशकअघिको सामाजिक, सांस्कृतिक, राजनीतिक विषयलाई उपन्यासमा चित्र जस्तो बनाएर देखाएका छन् लेखकले’, उनले भने, ‘चोरी, लुटपाट र डकैतीको समस्याबाट आजित बासिन्दाको मनोदशा त्यो बेला जस्तो थियो अहिले पनि त्योभन्दा फरक छैन।’
कवि विप्लव प्रतीकले हराइसकेको पाण्डुलिपि खोज्न लगाएर प्रकाशनसम्मको अवस्थाबारे चर्चा गरे।
‘चालीस वर्षअघि लेख्न थाल्नुभएको रहेछ। पाण्डुलिपि थन्किएर बसेको थाहा पाएपछि खोजी गर्न लगाएँ,’ उनले भने, ‘नेपाली साहित्यका लागि यत्तिको महत्वपूर्ण कृति आवश्यक छ भन्ने लागेरै प्रकाशनको तारतम्य मिलेको हो।’ उपन्यासले सिमानामा चलिरहने घटनाका सूक्ष्म कथाहरु खोतलेको उनको भनाइ थियो।
अर्का वक्ता पत्रकार फणीन्द्र संगमले सिमानामा रहेका नेपालीले वर्षौंदेखि भोग्दै आएको त्रासदीको सग्लो चित्र उपन्यासले समेटेको बताए। पुस्तकको औपन्यासिक संरचना अब्बल रहेको उल्लेख गर्दै उनले पाठकलाई तत्कालीन समाज र इतिहास बुझाउन पुस्तक सफल रहेको चर्चा गरे।
‘सिमानामा हुने लुटपाट, चोरी डकैतीका साथै चार दशकअघिको सामाजिक संरचनाको सग्लो चित्र उपन्यासले उतारेको छ’, उनले भने, ‘पञ्चायती समाज व्यवस्था र नेपाली समाजको विगत खोतल्न पनि उपन्यास निकै सहयोगी बनेको छ।’
पत्रकार डोलेन्द्र थापाले पछिल्लो समय नेपाली साहित्यमा पढ्नैपर्ने सामाजिक उपन्यास लेखिएको बताए। सिमानाका दुःखसँगसँगै कालोबजारी गर्नेहरुले प्रयोग गर्ने त्यो बेलाको कोडभाषा र स्थानीय लबजलाई जस्ताको तस्तै रुपमा उतार्न लेखक सफल रहेको उनको भनाइ थियो।
मिर्गौला रोगबाट पीडित लेखकको भने पुस्तक प्रकाशनको चरणमै निधन भएको थियो। उनकी छोरी कलिना कार्कीले लेखकको निजी जीवन र साहित्यिक रुचिका बारे चर्चा गरिन्।
पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।