प्रतीकात्मक तस्बिर
काठमाडौं- करिब डेढ क्विन्टल अवैध सुन कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दूई जना विरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
करिब १ अर्ब ६६ करोड २० लाख रुपैयाँभन्दा बढी बिगो जरिवाना कायम गर्दै विभागले दायर गरेको यो मुद्दा एकै पसलले हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा गरेको अवैध सुन कारोबारको मुद्दा हो।
रौतहट जिल्ला गौर नगरपालिका-५ बस्ने २१ वर्षका अनुकेश कुमार साह र सोही स्थान बस्ने विजय कुमार साहले चोरी पैठारी गरी ल्याएको १ सय ५६ किलोग्राम ६ सय ८७ ग्राम ३५० मिलिग्राम सुनको अवैध कारोबार गरिएको भेटिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
उनीहरुलाई विभागले ८३ करोड १० लाख ४७ हजार ७ सय २० रुपैयाँ बराबरको राजश्व चुहावट गरेको र सो रकमको विदेशी विनियम अपचलन गरेको आरोपसहित कुल १ अर्ब ६६ करोड २० लाख ९५ हजार ४ सय ४१ रुपैयाँ बराबर बिगो कायम गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा रौतहट जिल्ला अदालतमा जेठ ३१ गते मुद्दा दायर गरेको हो।
कसरी भेटियो यति ठूलो परिमाणमा अवैध सुन?
गत बैशाख २० गते बिहान साढे ५ बजे गौर नगरपालिका -४ मा रहेको बसपार्कबाट अनुकेश कुमार साह १ किलो सुन, लु ४१ प ५८०३ नम्बरको गल्यामर मोटरसाईकलसहित पक्राउ परेका थिए।
साह पक्राउ परेपछि उनको २ थान मोबाईलमा खोलेर हेर्दा १ सय ७५ वटा सुनका डल्लाको कारोबार उनले गरिसकेको प्रमाण प्रहरीले फेला पार्यो।
उनको मोबाईलमा भएका डाटा डाउनलोड गरेर हेर्दा १ सय ७५ थान सुन कारोबारको हिसाबको विवरण प्राप्त भएकोमा सो कारोबारको विवरणलाई प्रहरीले पछ्याउँदा चोरी गरी ल्याएको डेढ क्विन्टल बढी अवैध सुन बरामद भएको थियो।
साहले उक्त सुन गौरमा विजयकुमार साहको नाममा दर्ता रहेको छेमामाई ज्वलेर्सलाई बेचेका थिए।
३ किलो ग्राम सुनमात्र बिक्री वितरणको अनुमति पाएको उक्त पसलले साहबाट किनेर पनि बेचिसकेका थिए।
साहका साथबाट बरामद भएको मोबाईलबाट छेमामाई ज्वेलर्सको सुनचाँदीको कारोबारको हिसाबकिताब डाउनलोड गरिएकोमा उसले उक्त अवैध सुनको कारोबार गरेको प्रमाण भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।