काठमाडौं– निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ राजनीतिक दलहरुले पाउने सिट टुंग्याएर एक सातामा नाम पठाउन पत्र पठाएको छ। आयोगको पत्रलाई आधार मानी दलहरुले सांसद तोकेमा दुई सातामा प्रदेशसभा सदस्यले पूर्णता पाउनेछ। प्रदेशसभा सदस्यहरु प्रत्यक्ष र समानुपातिकबाट चयन भएर आए पनि सरकारले प्रदेशसभाको राजधानी नतोक्दा बैठक व्यवस्थापन लगायतका काममा अवरोध पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रदेशको संसद, मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रिपरिषद र मन्त्रालयका लागि भौतिक व्यवस्थापनको कार्य गर्ने जिम्मेवारी आफूहरुको भएकाले त्यसको सम्पूर्ण तयारी गरेर बसेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए।
‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरु बस्ने कुर्सी ठिक्क पारेर बसेका छौं,’ पन्थीले भने, ‘सरकारले प्रदेशसभाको सदरमुकाम नतोक्दा कहाँ सांसद बस्ने भवन खोज्ने टुंगो लागउन अलमलमा छौं।’
मंसिर १० र २१ को प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश संसदको पहिलो बैठक बस्नुपर्ने संवैधानिक प्रावधान छ। निर्वाचन सम्पन्न भएको १५ दिन बितिसकेको छ। हालसम्म सरकारले प्रदेश प्रमुख र मुख्य सचिव समेत नियुक्त गर्न सकेको छैन।
प्रधानमन्त्री कार्यालय, सामान्य प्रशासन र गृह मन्त्रालयले आवश्यक विवरण सरकारलाई पठाइसकेको छ। ‘आइतबार–सोमबारसम्म राजधानी तोक्ने र नियुक्ति गर्ने काम भएमा एक सातामै हामी प्रदेश संसद भवन लगायत अन्य भौतिक व्यवस्थापन गर्न सक्षम छौं,’ प्रवक्ता पन्थीले भने। प्रदेशसभाको बैठकका लागि हाल क्षेत्रीय कार्यलयका भवनमा अन्तरिम कालका लागि व्यवस्थापन गर्ने मनस्थितिमा आफूहरु रहेको उनले बताए।
‘हामीलाई मुख्य समस्या भनेकै प्रदेशको राजधानी तय नहुनु हो,’ पन्थीले भने, ‘अन्य कामको तयारी भित्रि रुपमा भइसकेको छ।’
प्रदेशसभाका लागि चाहिने कर्मचारी व्यवस्थापन समेत सामान्य प्रशासन मन्त्रालयले गरिसकेको उनले बताए।
‘प्रदेशसभाको सदस्य चयन भएपछि त्यसले गर्ने काम कारबाही छिट्टै अघि बढ्नुपर्छ, कर्मचारी वा भवन अभावमा रोकिने कुरा हुँदैन,’ पन्थी भन्छन्, ‘जनशक्तिको टुंगो लागिसक्यो र अन्य व्यवस्थापनको तयारी सम्पन्न भएको छ।
संसद सचिवालयले पनि प्रदेशसभाको भवन रहने स्थान छिट्टै टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराइरहेको उनले बताए।
प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक तर्फ २ सय २० गरी कुल ५ सय ५० जना सदस्य हुने व्यवस्था छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने बानेश्वरमै राख्नेगरी संसद सचिवालयले तयारी गरिरहेको छ। प्रतिनिधिसभाका लागि हरियो कुर्सी र राष्ट्रियसभाका लागि रातो कुर्सी राख्ने गरी संसद सचिवालयले तयारी अघि बढाएको छ।
संसद सचिवालयले विघटित संसद बैठक कक्षमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने र त्यहीँ रहेको नुप्से हलमा राष्ट्रियसभा बैठक चलाउने गरी तयारी अघि बढाइरहेको सचिवालयले जनाएको छ। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट आउने १ सय १० गरी २७५ सांसद हुनेछन् भने माथिल्लो सदन राष्ट्रियसभामा ५९ सदस्य हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।