एजेन्सी- उपाधि दाबेदारको रुपमा हेरिएको उरुग्वेले कोपा अमेरिकामा उत्कृष्ट सुरुवात गरेको छ। सोमबार बिहान सकिएको खेलमा उरुग्वेले सूमह चरणको पहिलो खेलमा इक्वेडरलाई ४-० गोल अन्तरले हराउँदै उरुग्वेले उत्कृष्ट सुरुवात गरेको हो।
खेलको ६ मिनेटमै गोल गरेको उरुग्वेले पहिलो हाफमा ३ गोल गरेको थियो। खेलको ६ मिनेटमा लुइस स्वारेजले दिएको क्रस पासमा निकोलास लोडेरियाले इक्वेडरका तीन जना डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
२४ मिनेटमा रातो कार्ड खाँदै जोसे क्विन्टेराज मैदान बाहिरिएपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो। ३३ मिनेटमा कप्तान डिएगो गोडिनले दिएको हेड पासलाई इडिसन काभानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए।
४४ मिनेटमा पाएको कर्नर बललाई लुइस स्वारेजले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए।
१० खेलाडीमा सिमित इक्वेडरमाथि उरुग्वेले लगातार दबाब दिएको थियो। पेनाल्टी बक्सभित्र बल क्लियर गर्ने क्रममा इक्वेडरका अर्टुरो मिनालाई लाग्दै आत्मघाती गोल भएपछि उरुग्वेले ४-० को सहज जित हात पारेको होे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।