एजेन्सी- कोपा अमेरिकाअन्तर्गत आइतबार राति भएको खेलमा पाराग्वे र कतारले अंक बाँडेका छन्।
यी दुई टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। पाराग्वेले २-० को अग्रता जोगाउन नसक्दा कतारसँग अंक बाड्न बाध्य भएको छ। पाराग्वेले खेलको चौथो मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेको थियो। ओस्कार काराडोजले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-० को बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ५६ मिनेटमै पाराग्वेका डेर्लिस गान्जालेले गोल गर्दै अग्रता दोब्बर बनाए। २-० ले पछि परेको पाहुना टोली कतारले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो। कतारका लागि ६८ मिनेटमा अल्मोइ अलीले डिएरिया बाहिरबाट सुन्दर गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए।
अलीले गोल गरेको ९ मिनेटपछि कतारका बोआलेम खोउखीले हानेको बल क्लियर गर्नेक्रममा पाराग्वेका डिफेन्डर जुआन रोड्रिगोले हेड गर्दा आत्मघाती गोल हुन पुगेको थियो र खेल २-२ को बराबरीमा टुंगियो।
योसँगै समूह 'बी'मा रहेको कोलम्बिया ३ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। पाराग्वे र कतार १/१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। अंकबिहीन अर्जेन्टिना पुछारमा छ।
कतार र पाराग्वेको बराबरीले भने अर्जेन्टिनालाई केही राहत मिलेको छ। यी दुई टिममध्ये एकले स्पष्ट ३ अंक बटुलेकोे भए अर्जेन्टिनालाई केही अहसज हुने थियो। बाँकी २ खेलबाट जित निकाले क्वाटरफाइनल पुग्न अर्जेन्टिनालाई केही सहज हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।