जनकपुर- प्रदेश २ को धनुषा लगायतका जिल्लाहरुमा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएपछि धमाधम निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरिएको छ।
गर्मीका कारण आइतबारदेखि धनुषासहित प्रदेशका अधिकांश जिल्लाका विद्यालयहरु असार ६ गतेसम्मका लागि बन्द गरिएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले विज्ञप्ति नै जारी गरेर जिल्लाका सबै विद्यालयहरु आइतबारबाट एक साताको लागि बन्द भएको जनाएको छ।
पछिल्लो केहि दिनयता बढेको तापक्रमले पठनपाठनमा असहज स्थिति पैदा भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार गरेको छ। अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएकोले २ असारदेखि ६ असारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको इकाइ प्रमुख भरखुप्रसाद रजकले बताए।
उनले वर्षे विदामा कट्टा हुनेगरी विद्यालयहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए।
तराई क्षेत्रमा तपक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा सामान्य हिँडडुल तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भइरहेको स्थानीयहरु बताउँछन्। भिडभाड बढी हुने सरकारी कार्यालय तथा हाटबजारमा समेत स्थानीयको उपस्थिति पातलो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।