काठमाडौँ- जनजीवन नै त्रस्त बनाउने गरी गएको जेठ १२ गते काठमाडौँ उपत्यकामा शृंखलावद्ध विस्फोट भए।
आफैले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा सुकेधारा, घट्टेकुलो र थानकोटमा भएका विस्फोटका घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ४ कार्यकर्ताको मृत्यु भयो।
विस्फोटमा विभुराम विक, निरन्तर मल्ल, गोकुल रानामगर र प्रज्वल शाहीको मृत्यु भएको थियो।
त्यस्तै घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने रविन केसी घाइते भएका थिए। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ, कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भए। उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ। थानकोटमा विक्रम लामा घाइते भए। उनको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
आफन्तको गुनासो- घाइतेमाथि प्रहरीले टर्चर दियो
तर, उक्त विस्फोटका घाइतेका परिवारले आफूहरु र उपचाररत घाइतेलाई समेत प्रहरीले मानसिक तनाव दिइरहेको अरोप लगाएका छन्।
घाइतेका आफन्तले उपचार गर्न पाउने संविधान प्रदत्त अधिरका समेत हनन् गर्दै प्रहरीले अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मै गएर ‘टर्चर’ दिइरहेको गुनासो आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर गरेका छन्। घाइतेलाई मात्रै होइन आफूहरुलाई समेत बिनाकारण विप्लवसँग जोडेर मानसिक तनाव दिइरहेको उनीहरुको गुनासो छ।
विस्फोटमा घाइते भएका हरिबहादुर खड्काका छोरा जीवन खड्काले पत्रकार सम्मेलनमा आफ्नो बुवालाई बिना कारण विप्लवको पार्टीसँग जोडेको गुनासो पोखे।
‘एउटा समान्य मान्छे कपाल काट्न जान्छ,’ उनको आक्रोस छ, ‘त्यहाँ कपाल काटेर फर्किदै गर्दा बिस्फोट भएर सिधै अस्पताल ल्याइन्छ भने उहाँलाई विप्लवको कार्यकर्ता कसरी भन्न मिल्छ?’
सुकेधारको विस्फोटमा परेर घाइते भएका खड्काको एउटा खुट्टाको हड्डी र एउटा हातको औंला पनि भाँचिएको छ। आफ्नो बुवा समान्य नागरिक भएको र कपाल काटेर फर्किदै गर्दा विस्फोटमा परेको भन्दै उनी राज्यले उपचार खर्च व्यहोर्नु पर्ने माग गर्छन्।
‘हाम्रो जति पनि खर्च भएको छ, त्यो राज्यले व्यर्होछ कि व्यर्होदैन्?,’ उनको प्रश्न छ, ‘मेरो ड्याडी एउटा समान्य नागरिक हो। उहाँ पसल चलाएर बसेको मान्छे। पसल चलाएर हामी (छोराहरु)लाई पढाउँदै हुनुहुन्छ।’
घाइते हरिबहादुर श्रीमती राधिका बिना कारण आफ्नो पतिलाई विप्लवको कार्यकर्ता भनेको र जेठो छोरालाई पटक-पटक मानसिक तनाव समेत प्रहरीले दिइरहेको गुनासो पोखिन्छन्। ‘सरकारले विप्लवको पार्टीको मान्छे भनेको छ,’ उनी भन्छिन्, ‘त्यो चाहिँ होइन्। हामीलाई केही पनि थाहा छैन। विप्लवको मान्छे भएको भए त हामीलाई थाहा हुन्थ्यो नि।’
प्रहरीले आफूलाई पनि सोधखोज गरेको र छोरालाई राति-राति बोलाएर दुःख दिइरहेको गुनासो पोख्दै उनी भन्छिन्, ‘प्रहरीले मलाई पनि धेरै सोधखोज गरे। मेरो छोरालाई पनि राती लाने, छोरालाई धेरै दुःख दिइरहेको छ। छोराको कार्ड पनि लिएर गएका छन्। तँ पनि त्यही संलग्न भएको रहेछस्, हामी घटना भएको स्थलमा भेटेको भनेर मेरो जेठो छोरालाई धेरै तनाव दिएका छन्।’
थानकोट विस्फोटमा विक्रम लामा घाइते भए। उनकी श्रीमति सन्तोषी श्रेष्ठ घाइते श्रीमान् र आफूलाई विप्लवको मान्छे भन्दै प्रहरीले दुःख दिइरहको गुनासो गर्छिन्।
विस्फोटले आँखामा क्षति पुगेका लामाको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उपचारकै क्रममा प्रहरीले आईसीयूमै गएर टर्चर दिएको र उपचार पुरा भइनसक्दै डाक्टरलाई डिस्र्चाज गर्न दवाव दिइरहेको आरोप सन्तोषीले प्रहरीमाथि लगाइरहेकी छिन्।
‘सरकारी निकायले उहाँ (श्रीमान्)लाई टर्चर दिइरहेका छन्,’ उनको दुखेसो छ, ‘प्रहरी प्रशासनले उपचार गर्ने डाक्टरलाई पनि टर्चर दिइहेको छ। हामी अनुसन्धानबाट भागेका पनि छैनौं, उहाँहरुले मजाले अनुसन्धान गर्नुहोस्। तर, मेरो माग यत्ति हो कि पूर्णरुपले घाइतेलाई निको हुन दिनुहोस्। उपचार पूर्णरुपमा नहुँदै आईसीयूमै गएर प्रहरीले आजै लैजान्छु, भोली लैजान्छु भन्दा उहाँलाई मानसिक समस्या बढेको छ। विरामीको समस्या झन् विग्रेको छ।’
प्रहरीले आफूहरुलाई विप्लवको विल्ला भिराएपछि घरबेटीले समेत डेरा छोड्न दवाव दिइरहेको उनको गुनासो छ। ‘हाम्रो पसल छ, त्यसको सामान ल्याउँछु भनेर जानु भएको थियो,’ घटना सम्झदै उनले आफ्नो दुःख पस्किइन्, ‘त्यो घटना भएको मलाई थाहा पनि छैन्, प्रहरीले भनेपछि मात्रै थाहा भयो। हामी भाडाको कोठमा बस्छौं। प्रहरीले घरबेटीलाई मान्छे हेरेर मात्रै राख्नु पर्दैन भन्नु भयो। त्यसपछि घरबेटीले घर छोड्न दवाव दिइरहेका छन्। हामी कस्तो खालको मान्छे हौं भन्ने त सबैलाई थाहा छ।’
प्रहरीले घाइतेलाई आफ्नो निगरानीमा राखेकाले उपचार खर्च पनि सरकारले नै व्यर्र्र्हानुपर्ने उनको माग छ। भन्छिन्, ‘खर्च उहाँहरु आफैले गर्नुपर्ने हो तर उहाँहरुले गर्नु भएको छैन्। हामीले ऋण खोजेर ल्याएर उपचार खर्च गरिरहेका छौं।’
भिडियो पनि हेर्नुहास्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।