काठमाडौं- डलर र सुन साट्ने भन्दै रकम ठग्ने गिरोहका २ जनालाई प्रहरीले आज पक्राउ गरेको छ। भक्तपुर साँगाबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
परिसरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भई काभ्रे पाँचखाल बस्ने जितबहादुर तामाङ र सोही स्थानमा घर भई हाल काभ्रे धुलिखेल बस्ने रामबहादुर तामाङ रहेको बोगटीले बताए।
उनीहरुले नयाँ बसपार्क तथा बौद्ध क्षेत्रलाई केन्द्र बनाएर रकम ठग्दै आएका थिए। विदेशबाट फर्किएकाहरुलाई डलर, सुन तथा अन्य विदेशी मुद्रा साट्ने भन्दै उनीहरुले बाहिर सक्कली नोट र भित्र कागज राखी बनाइएको बन्डल दिएर भाग्ने गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ।
उनीहरु दुवै यसअघि पनि ठगी आरोपमै फरार सूचीमा थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट उनीहरुका विरुद्ध यसअघि नै मुद्दा चलिसकेको छ। उनीहरुमाथि थलीबाट ७ लाख र कपनबाट ७ लाख ठगी गरेको आरोप लागेको थियो।
यसपटक उनीहरुलाई १५ लाख रुपैयाँ ठगी गरेर भाग्दै गरेको अवस्थामा आज साँगाबाट पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।