एजेन्सी– दक्षिण कोरियालाई हराउँदै युक्रेनले २० वर्ष मुनिको (यु-२०) विश्वकप फुटबलको उपाधि जितेर इतिहास रचेको छ। शनिबार राति भएको खेलमा युक्रेनले दक्षिण कोरियालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
पोल्याण्डस्थित लोड्ज रंगशालामा फाइनल खेल भएको थियो। युक्रेनले उमेर समूहको विश्वकप जितेको यो नै पहिलो हो। दुबै टिमका लागि यो फाइनल खेल पहिलो थियो।
खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा दक्षिण कोरियाले हार बेर्होन पुगेको थियो।
खेलको ५ मिनेटमै डिएरिया भित्र कोरियाली खेलाडीलाई लडाएपछि दक्षिण कोरियाले पेनाल्टी पाएको थियो। लि काङ इनले युक्रेनका गोलरक्षक एन्ड्री लुनिनलाई रोक्ने मौका नै नदिई बललाई जाली चुमाएका थिए।
१–० पछि परेको युक्रेनले शानदार पुनरागमन गर्दै उपाधि हात पार्यो।
युक्रेनका लागि पहिलो हाफको ३४ मिनेटमा सुप्रिहाले बराबरी गोल गरे। पहिलो हाफ १–१ को बराबरीमा टुंगियो।
दोस्रो हाफको ५२औं मिनेटमै सुप्रिहाले व्यक्तिगत दोस्रो गोल गर्दै युक्रेनलाई अग्रता दिलाए।
त्यसपछि खेलको ८९औं मिनेटमा हेओरीले युक्रेनका लागि तेस्रो गोल गरे। उनको गोलसँगै युक्रेनले ३–१ को सहज जित निकाल्दै विश्वकपको उपाधि जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।