बर्दिबास- अत्याधिक बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन्। जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन्।
जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ। 'बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले,' सोनम गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, 'यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय ६ दिन बन्द गर्ने निर्णय गर्यौँ।'
लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि ६ दिन विद्यालय बन्द गरिने जनाएका छन्। तापक्रममा वृद्धि भए लगत्तै विद्यार्थी स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए।
जिल्लाका अन्य स्थानीय तहले पनि आज विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन्। मौसममा सुधार नआए आजदेखि नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ।
जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन्।
जिल्लामा पछिल्लो ३ दिनयता तापक्रम बढेको छ। बर्दिवासको भोला वसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम मापन गरेको थियो।
अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल गर्न पनि सकसपूर्ण बन्दै गएको छ। गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल घटेको छ।
प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स–साना नानीबाबु, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदूर मारमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।