फाइल तस्बिर
जनकपुर- जनकपुरमा लागुपदार्थ दुर्व्यसनीको क्रम बढ्दै गएको प्रहरीले जानकारी दिएको छ। सुरक्षाकर्मीलाई झुक्याएर भारतीय सीमा क्षेत्रबाट सहजै लागुऔषध खरिद गरेर ल्याउन सकिने भएकाले दुर्व्यसनीको संख्या बढ्दै गएको हो।
सुरक्षाकर्मीले पक्राउ गर्ने डरले भारतीय क्षेत्रमै बसी लागुऔषध सेवन गरेर नेपाल प्रवेश गर्ने समेत पाइएको प्रहरीले जनाएको छ।
लागुऔषधको कारोबार र सेवन नियन्त्रण गर्न यस क्षेत्रमा खटिने सुरक्षाकर्मीले नियमित चेकजाँच गर्ने गरेका छन्। समय समयमा लागुऔषधसहित पक्राउ पनि पर्छन्। तर, पनि सेवनकर्ता र कारोबारी निमिट्यान्न भएका छैनन्।
चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा लागुऔषधसम्बन्धी ५२ मुद्दामा ८५ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये करिब २५ प्रतिशत त नाबालक छन्। तथ्यांक विश्लेषण गरेको प्रहरी महोत्तरीमा ओसारपसारभन्दा सेवनकर्ताको संख्या अत्याधिक रहेको निष्कर्षमा पुगेको छ। पक्राउ परेकामध्ये करिब ६० देखि ७० प्रतिशत सेवनकर्ता हुन्।
'निरन्तर सीमापारी जाने शंकास्पद व्यक्ति तथा परिचित लागुऔषध सेवनकर्तालाई सीमा पार गर्नै नदिई फर्काउने गरेको छ। तर, पनि खुला सीमा भएकाले लुकीछिपी केही सीमापारि जाने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।