काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद रामवीर मानन्धरले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने बताएका छन्। गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै मन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुपर्ने सांसद् मानन्धरले माग गरेका हुन्।
शनिबार रिपोर्टस् क्लबको साक्षात्कारमा बोल्दै सांसद् मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बाँस्कोटाले आगोमा ध्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा दिनुपर्ने तर्क गरे।
मन्त्री बास्कोटाको भनाइले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उनले अपमान गर्ने विभागीय मन्त्री र सरकारका प्रवक्ताको दिनगन्ती सुरु भएको चेतावनी दिए।
'मन्त्रीहरुको दिनगन्ती सुरु हुन्छ। याद गर्नुहोस्। गणतन्त्रको पनि दिनगन्ती सुरु हुन्छ कि भन्ने हाम्लाई चिन्ता लागिरहेको छ,' उनले भने।
सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए। विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी उनको थियो। उनले २ सय ४० बर्षे राजतन्त्रलाई फालेका जनतासँग जोरी नखोज्ने उनले चेतावनी दिए।
'मन्त्री पद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ। सुन्नुपर्छ। फेरबदल गरेर कसैको इज्जत र जात जाँदैन। जात र इज्जतको लागि गर्या हो भने गर्नुहोस्। केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ। किनभने २ सय ४० बर्षको राजतन्त्रलाई निकाल्ने हामीजस्तै कार्यकर्ता हुन्। नेपाली जनता हुन्। यदि यो विधेयक बारे २ गते प्रधानमन्त्रीले केही बोलेन् भने ४ गते हेर्नुहोला। फेरी पनि मैले दोहोर्याएर भने ४ गते पर्खेर बस्नोस्। ४ गते उपत्यकामा तपाई हामीले सोचेको जस्तो दिन हुने छैन,' उनको भनाइ थियो।
सँगसँगै राजसंस्थाविरुद्ध लडेर आएकामाथि नै सरकारले दमनको नीति लिएको भन्दै उनले आक्रोश पोखेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भLमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए।
'सरकारले बुझोस्। राजा फाल्ने शक्तिले तपाईलाई फाल्ने मात्रै होइन। तपाईलाई मासमा ल्याएर धुलोपीठो बनाउँछ जनताले। याद गरोस् यो सरकारले,' उनले भने।
भूमिगत बसेर हुर्केका कम्युनिस्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापूर्ण भएको टिप्पणी गरे।
संस्कृति विद् डाक्टर गोविन्द टन्डनले सरकारले सबैको सहमतिमा राष्ट्रिय गुठी आयोग गठन गरेर निजी र सार्वजनिक गुठीको संञ्चालन गरी सम्पदाको संरक्षण गरी परम्परालाई कायम राख्नुपर्ने तर्क गरे।
गुठी विधेयकको सडकदेखि सदसम्म विरोध हुँदै आएको छ। राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दिनहुँजसो गुठी विधेयकको विरोधमा प्रर्दशन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।