राजविराज– लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि निकालेको विज्ञापन विभेदकारी भएको भन्दै शनिबार सप्तरीमा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाइएको छ।
आधा दर्जन विद्यार्थी संगठनले विज्ञापनको विरोध गर्दै राजविराजमा निकालेको र्यालीपछि जनआन्दोलन चौकमा पुतला जलाइएको हो।
विरोध जुलुसमा समाजवादी विद्यार्थी फोरम, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीहरुको सहभागिता थियो।
आयोगले हाल निकालेको विज्ञापन रद्द गरी समावेशी सिद्धान्तका आधारमा पुनः विज्ञापन आह्वान् गर्नुपर्ने उनीहरुको माग छ।
संघीयता, समावेशी तथा समानुपातिक प्रणाली विपरित निकालिएको विज्ञापन रद्द नगरे चरणवद्ध आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिए।
.jpg)
आइतबार पनि राजविराजमा मशाल जुलुससहित कोणसभा र सोमबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने उनीहरुले बताएका छन्।
आयोगले जेठ १५ मा ५ सय १५ स्थानीय तहमा ९ हजार १ सय ६१ पदपूर्तिका लागि विज्ञापन गरेको थियो।
संविधानअनुसार उक्त संख्याको ४५ प्रतिशत समावेशी कोटा खुलाउनुपर्नेमा त्यसको आधा सिटमात्रै समावेशिताका लागि छुट्याइएको छ।
आयोगको विज्ञापन संविधानको मर्म विपरीत भएको भन्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलेले समेत रद्द गर्न निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।