काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी राष्ट्रियसभा निर्वाचन अध्यादेश अविलम्व जारी गरी नयाँ सरकार गठनको बाटो खुल्ला गरिदिन आग्रह गरेका छन्।
राष्ट्रियसभा गठन नगरी नयाँ सरकार गठनको बाटो नखुल्ने भएकाले तत्काल अध्यादेश जारी गर्न कांग्रेसका तर्फबाट राष्ट्रपतिलाई आग्रह गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
‘राष्ट्रपतिसँगको भेटमा राष्ट्रियसभा निर्वाचन अध्यादेशबारे कुराकानी भयो। हामीले राष्ट्रियसभा गठन नगरी नयाँ सरकार चयन नहुने प्रस्ट पारेका छौं,’ पौडेलले भने, ‘अध्यादेश जारी गर्नुको विकल्प छैन, संविधान अनुसार यही मात्र विकल्प भएको जानकारी राष्ट्रपतिलाई गराएका छौं।’
करिब १ घन्टा चलेको छलफलमा जारी अवरोध हटाउने विषयमा राष्ट्रपतिले परामर्श गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित पुगेका कांग्रेसका शीर्ष नेताहरुलाई अन्य दलसँग छलफल गर्ने जवाफ दिएको पौडेलले बताए। राष्ट्रपतिले अध्यादेश सच्याउने वा फिर्ता पठाउने विकल्पबारे कुनै जवाफ नदिएको पौडलले बताए।
‘हाम्रो सुझावपछि अन्य पार्टीसँग पनि छलफल गर्ने मनसायमा राष्ट्रपति रहेको बुझेका छौं,’ पौडेलले भने।
सरकारले संसद विघटनपछि राष्ट्रियसभा निर्वाचन अध्यादेश एकल संक्रमणीय निर्वाचन प्रणालीमा हुने व्यवस्था गर्दै जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको थियो।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेता विमलेन्द्र निधि, कानुनमन्त्री यज्ञबहादुर थापा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।