फाइल तस्बिर
काठमाडौं- गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ।
ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो।
ज्यापू महागुठी अन्तर्गतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो।
प्रर्दशनकारीले 'नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ'लगायतका नारा लगाएका थिए। ज्यापू महागुठी अन्तर्गतका गुठीको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवललगायतका स्थान हुँदै बसन्तपुर दरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो।
सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ। सत्तारुद दलकै सांसदहरुले पनि यो विधेयकको विरोध गर्दै आएका छन्।
सरकारले मुलुकभरका गुठीको व्यवस्थापनलगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिस्ट्रेसन पास गरिदिने व्यवस्थासहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन्।
गुठी विधेयकको विरोधमा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुँदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।