डडेल्धुरा- कञ्चनपुरको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अटोरिक्सा चालक प्रेम थापाको उपचारका क्रममा भारतको अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो।
मृतक थापाको शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको कञ्चनपुरका प्रहरी प्रमुख ज्ञानबहादुर बिष्टले जानकारी दिए।
शुक्रबार सदरमुकाम महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको एक्स्काभेटर र विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा ठोक्किएपछि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा बैतडीको देहीमाडौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोक बस्ने ३५ वर्षीया बिना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परी मृत्यु भएका देहीमाडौंका बोहराकी श्रीमती २५ वर्षीया लक्ष्मी र उनका अढाई वर्षीय छोरा विशान्त तथा कञ्चनपुरकै बेल्डाँडीका सन्तोष लुहारको धनगढीका अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परी घाइते भएका साइकल यात्री जगदीश पार्कीको महाकाली अस्पतालमै उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।