राजविराज– सप्तरी जिल्ला अदालतले जेठको अन्त्यसम्ममा ४३ दशमलब ११ प्रतिशत मात्रै मुद्दा फर्छ्यौट गर्न सकेको छ। अदालतले ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्नुपर्ने लक्ष्य पाएको थियो।
न्यायपालिकाको तेश्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पनि कम्तीमा ६० प्रतिशत मुद्दा फर्छ्यौट गर्नुपर्ने थियो। तर, न्यायाधीशको कमी, स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको न्याय सम्पादन गर्न नसकिएको श्रेष्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।
यस वर्ष दर्ता भएका ३ हजार ३ सय ९१ र जिम्मेवारी सरेका ४ हजार ३ सय ३४ गरी अदालतमा कूल ७ हजार ७ सय २५ मुद्दा छन्। जसमध्ये ३ हजार ३ सय ३१ मुद्दा फर्छ्यौट भई ४ हजार ३ सय ९४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको बर्देवाले बताए।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तथा दरबन्दी अनुसारको न्यायाधीश उपलब्ध नहुँदा न्याय सम्पादन प्रभावित भएको उनको भनाइ छ। सरकारले निर्वाचनका समयमा जिल्ला अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको थियो।
मुख्य न्यायाधीश हरिश्चन्द्र ढुंगानाले पनि समयमा दरबन्दी अनुसारका न्यायाधीश नहुनु र भएका न्यायाधीश पनि मुद्दा छोडेर निर्वाचनमा खटिनुपर्दा अदालतको कामकारबाही प्रभावित भएको दाबी गरे। गत वर्षदेखि नै ९ जनाको दरबन्दीमध्ये ५ जना न्यायाधीशले मात्रै काम गर्नुपर्दा लक्ष्य अनुसारको काम गर्न नसकिएको उनको भनाइ छ।
मंसिरदेखि दरबन्दी अनुसारका न्यायाधीश हाजिर भएकाले मुद्दाको संख्या घटाउँदै लगिने उनले प्रतिबद्धता पनि जनाए।
दुई वर्ष नाघेका मुद्दाको संख्या ९ सय ९३
जिल्ला अदालतमा दुई वर्ष नाघेर पनि फर्छ्यौट हुन बाँकी रहेका मुद्दा मात्रै ९ सय ९३ वटा छन्।
न्यायालयको रणनीतिक योजनाअनुसार १८ महिनाभन्दा पुराना मुद्दा राख्न नपाइने भएपछि विशेष परिस्थितिका कारण पुराना मुद्दा घटाउन नसकिएको मुख्य न्यायाधीश ढुङ्गानाले जानकारी दिए। ‘१८ महिनाभन्दा माथिका मुद्दा नराख्ने भनिएको छ। तर, हामीसँग ०६९ सालदेखिका मुद्दा पनि छन्,’ उनले भने, ‘प्रक्रियागत जटिलताले गर्दा पनि त्यस्ता मुद्दा फर्छ्यौट गर्न सकिएको छैन।’
सवैभन्दा बढी अंश मुद्दा
अदालतमा सवैभन्दा बढी अंश मुद्दा छन्। जेठको अन्त्यसम्ममा कूल १ हजार १ वटा अंश मुद्दा दर्ता भएका मुख्य न्यायाधीश ढुंगानाले बताए। त्यसपछि क्रमशः जग्गा किचलोका ७ सय ३५ र लेनदेनका ४ सय २४ मुद्दा छन्।
यसबाहेक महिलापीडित भएका र थुनुवा मुद्दा ९६/९६ वटा रहेका ढुंगानाले जानकारी दिए। थुनुवा मुद्दामा महिला ३ र विदेशी नगारिक ७ गरी प्रतिवादीको संख्या १ सय ३४ रहेको अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।