रुपन्देही– घुस लिएको आरोपमा रुपन्देही जिल्लामा कार्यरत इन्सपेक्टरसहित सात प्रहरी निलम्बनमा परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत इन्सपेक्टर मधु नेपालसहितका प्रहरीलाई निलम्बन गरी विभागीय कारबाही अघि बढाइएको छ।
इन्सपेक्टर नेपालले दुई वटा घटनामा घुस असुलेको अनुसन्धानमा खुलेको छ। केही बालकहरुलाई मुद्दामा फसाइदिने भन्दै ७० हजार लिएका थिए । त्यस्तै गाँजासहित पक्राउ परेका व्यक्तिहरुसँग ५० हजार रुपैयाँ लिएर उनले उन्मुक्ति दिएका थिए । प्रहरी प्रधान कार्यालयको सिफारीसमा केही दिनअघि गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । २०६४ मा असईबाट भर्ना भएका नेपालले २०७० मा खुला प्रतिस्पर्धाबाट इन्सपेक्टरमा नाम निकालेका थिए । उनका घुमुवाका रुपमा कार्यरत सिपाही गोपीकृष्ण नेपाल पनि निलम्बनमा छन् । उनलाई जुवाखालबाटै तिहारमा प्रहरीले पक्राउ गरेको थियो।
त्यस्तै एसपीकै नाम बेचेर पैसा असुल्ने असईसहित अन्य पाँच जना प्रहरीलाई पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निलम्बन गरेको छ। जसमा घुमुवा प्रहरीहरु समेत छन्। उनीहरुले एसपी श्याम ज्ञवालीकै नाममा पैसा असुलेको अनुसन्धानमा खुलेको छ। संगठनमा शुद्धिकरण अभियान अन्र्तगत खराब आचरण भएका प्रहरीहरुलाई निलम्बन गरी कारबाही अघि बढाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।