रामपुर- पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ। ५० शय्याको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकारे।
पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि ९ जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइ छ। त्यो मात्रै होइन अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ। अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ।
अस्पतालका सूचना अधिकृत कोइरालाका अनुसार अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने ७० किसिमका औषधि नियमित दिने गरेको छ। उनले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध हुने अस्पतालका सेवा सुविधाका बारेमा निगरानी गरिरहेको बताए।
कालीगण्डकीबेसीका करीब २ सयको हाराहारीमा बिरामीले स्वास्थ्य उपचारका निम्ति आउने अस्पतालमा अहिले ७ जना एमबिबिएस डाक्टरमध्ये ४ स्थायी र ३ करार डाक्टरले सेवा दिँदै आएका छन्। अस्पतालमा अहिले ३ स्टाफ नर्स, ४ अनमी, एक नर्सिङ अधिकृत, ४ एचए, ल्याबमा ५, फार्मेसीमा २ तथा ५ जना सहयोगीले सेवा दिएका छन्।
भिडियो एक्स–रे तथा एक्स–रे सेवा पाइने भए पनि भिडियो एक्स–रेका निम्ति स्थानीय निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन्।
अस्पतालमा आउने बिरामी अधिकांशले सरकारले दिनेभन्दा फरक केही औषधि चाहिए निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता भने केही समय अगाडि अस्पताल हातामै फार्मेसी सञ्चालन भएपछि सजिलो भएको रामपुरका फडेश्वर गौतमले बताए।
अस्पतालमा आउने अधिकांश बिरामीले शल्यक्रिया तथा भिडियो एक्स–रे सेवा नहुँदा लामो समय खर्चेर जिल्ला सदरमुकाम तानसेन तथा रुपन्देही, बुटवल तथा कास्कीपोखरा पुग्न परेको गौतमको भनाइ छ।
म्याद थप गरेर डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने अस्पतालको करीब ७० प्रतिशत काम सकिएको छ। करिब १९ करोड रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनियर जितेन्द्र चौधरीले जानकारी दिए।
अस्पताल निर्माण कार्य सकिएपछि भने स्वास्थ्य सेवा उपलब्ध हुने सर्वसाधारणको अपेक्षा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।