काठमाडौं- नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ।
विश्व रक्तदाता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरियो। रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन गरिएको थियो।
कार्यक्रममा बोल्दै सो प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बताइन्। उनले स्वस्थ नागरिकहरुलाई रगत दान गरेर त्यसलाई अभाव हुन नदिन पनि आग्रह गरिन्। चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन्। रगत दान गर्दा कुनै असर नपर्ने पनि डा झाले बताइन्।
प्रभातफेरीमा ब्लड डोनर एसोसिएसन अफ नेपाल, रेडक्रसलगायतका संघसंस्थाहरु सहभागी भएका थिए। सरकारले नेपालमा रगतको उचित व्यवस्था गर्न राष्ट्रिय रक्त सञ्चार व्युरोकै व्यवस्था गरेको छ।
नेपालमा २ प्रतिशत जनसंख्याले मात्रै नियमित रगत दान गरे पनि रगतको अभाव नहुने सरकारी तथ्यांकले औंल्याएको छ। तर, जनचेतनाको अभावमा रगत दान गर्ने काममा भने कमी हुने गरेकाले त्यसलाई बढाउनका लागि पनि रगत दान गर्न आह्वान गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको डा झाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।