डडेल्धुरा- कञ्चनपुरको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ।
एक्स्काभेटरले अटोरिक्सालाई ठक्कर दिँदा बैतडीको देहीमाण्डौंका २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरास्थित पृथ्वीचोक बस्ने ३५ वर्षीया बिना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार दुर्घटनामा परी चार जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका अटो चालक गड्डाचौकीका प्रेम थापालाई भारत रिफर गरिएको छ।
प्रहरी उपरीक्षक बिष्टका अनुसार दुर्घटनामा परी मृत्यु भएका देहीमाण्डौंका बोहराकी श्रीमती २५ वर्षीया लक्ष्मी र उनका अढाई वर्षीय छोरा विशान्त तथा कञ्चनपुरकै बेल्डाँडीका सन्तोष लुहारलाई कैलालीको धनगढी रिफर गरिएको छ। दुर्घटनामा परी घाइते भएका साइकल यात्री जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको एक्स्काभेटरले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।