नयाँ दिल्ली (एजेन्सी)– भारतको सबैभन्दा चर्चित जोडी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाहको रिसेप्सनमा प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित भएका छन्।
बिहीबार राति राजधानी दिल्लीको पाँचतारे होटल ताजमा भएको रिसेप्सनमा विवाहित वरवधुलाई आर्शीवाद दिन प्रधानमन्त्री मोदी पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो जोडीले बुधबार प्रधानमन्त्री निवास पुगेर रिसेप्सनको निम्तो दिएका थिए। रिसेप्सनमा देश र विदेशका चर्चित व्यक्तिहरू उपस्थित भएका थिए।
रिसेप्सनमा करिब २० मिनेट सहभागी भएका प्रधानमन्त्रीले सबैका अगाडि विरुष्का जोडीलाई विवाहको शुभकामना दिएका थिए।
अनुष्का भारतीय बेहुलीको पहिरनमा बनारसी साडी र सिन्दुरसहित आकर्षक गरगहनामा सजिएकी थिइन्। यस्तै, विराटले पनि परम्परागत कालो शेरवानी र प्रिन्टेड सल ओढेका थिए।
शाही रिसेप्सन नाम दिइएको यो समारोहमा क्रिकेटर जहिर खान, गौतम गम्भीर, आशिष नेहरा, वीरेन्द्र सहवाग र युवराज सिंह परिवारसहित पुगेका थिए। रिसेप्सन ताज डिप्लोमेटिक एन्कलेवको दरबार हलमा भएको थियो। भारतको महँगो होटल र मुगल युगको डिजाइनमा बनेको यो हलबाट दिल्लीको आकाश छर्लंग देखिन्छ।
विराट र अनुष्काले विवाहको रिसेप्सन दुईपल्ट दिँदैछन्। बिहीबार दिल्ली र अब मुम्बईमा रिसेप्सनको आयोजना हुँदैछ। दुबैले ११ डिसेम्बरमा इटलीमा विवाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।