बर्दिबास- महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालयले आफूहरुलाई उठिबास लगाउन खोजेको स्थानीयले आरोप लगाएका छन्।
बर्दिबास नगरपालिका–१ को गाल्टार टोलस्थित तामाङ टोलमा साढे ७ बिघा र बर्दिवास–१४ स्थित हाट बजारको ३ बिघा गरी १० बिघा जग्गा अतिक्रमणमा परेको दाबी गर्दै ३५ दिने सूचना निकालेपछि स्थानीयवासीमा चिन्ता बढेको छ।
मुसहर, तामाङ, मगर, मुसलमान जातिका मानिसहरु व्यापार व्यवसाय गर्दै सोही स्थानमा बसोबास गर्दै आएका छन्। आफूहरु बसोबास गर्दै आएको जग्गाबाट जबरजस्ती उठिबास गराए सशक्त आन्दोलनमा जाने स्थानीय रत्नबहादुर खुलाल बताउँछन्। आफूहरु पुस्तौंदेखि बसोबास गर्दै आ एको र अन्य ठाउँमा जाने विकल्प पनि नभएको उनको भनाइ छ।
बर्दिबासका तत्कालीन समाजसेवी स्वर्गीय नीरबहादुर हमालले आफ्नै जग्गा विद्यालयका नाममा दिएर २०१६ सालमा जनता मावि स्थापना गरेका थिए। कालान्तारमा अन्य दाताहरु थपिँदै जाँदा २० बिघा ५ कठ्ठा १२ धुर जग्गा विद्यालयको कानुनी स्वामित्वमा आएको थियो। २०१७ सालमा तात्कालीन नीरबहादुर हमालले विद्यालयलको खाली जग्गामा स्थानीयलाई किनमेलमा सहज होस् भन्दै बजार लगाउन सुरु गरेका थिए।
सो समयमा उक्त जग्गा विद्यालयको नाममा थिएन। २०३६ सालमा विद्यालय मावि तहमा पुगेपछि हमालका माइला छोरा चिरञ्जीवी हमालले आफ्नो नाममा रहेको हालको वडा नं १४ स्थित २५ नम्बर बहादुर गंज २ 'क; कित्ता नं १३ को क्षेत्रफल ००—१४—०४ (१४ कट्ठा ४ धुर) र सोही वडामा रहेको कित्ता नं २८ को क्षेत्रफल ०१—०६—१५ (१ बिघा ६ कट्ठा १५ धुर) जमिन विद्यालयको नाममा रजिष्ट्रेसन पास गरिदिएका थिए। उक्त जग्गा विद्यालयको स्वामित्वमा आएपछि लिजमा दिइएको कागजपत्र बनाई तिरो उठाउन थालिएको विद्यालय स्वयंले स्विकार्दै आएको छ।
लिजमा उपलब्ध गराएको जग्गा अतिक्रमण भएको भन्दै बस्ती हटाउन ३५ दिने सूचना जारी गरेपछि अहिले त्यस बस्तीका गरिब बासिन्दाहरु चिन्तित भएका छन्।
बिचौलियामार्फत खरिद-बिक्री
विद्यालयको लापरबाहीका कारण यहाँको जग्गा बिचौलियामार्फत खरिद-बिक्रीसमेत हुँदै आएको खुलेको छ।
पहिले विद्यालय मातहत रहेको जग्गा हरिप्रसाद काफ्लेले सन्तोषकुमार साहलाई १४ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको कागजी प्रमाण फेला परेको छ। २०७२ चैत ७ गते काटिएको 'जग्गा भोगचलन प्रमाणपत्र' मा १४ फिट (पूर्व चौडाइ भएको) मुख र ८५ फिट लम्बाइ भएको जग्गामा रहेको दुईतल्ले पक्की ७ कोठे घर भएको जग्गा बिक्री भएको उल्लेख।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोका बुवा बर्दिबास नगरपालिका वडा नं २ मा बसोबास गर्ने मौजे महतोले समेत विद्यालय स्वामित्वको जग्गा बिक्री गरेको पाइएको छ। २०७० असार १४ गते बर्दिबास बजारमा रहेको २ कोठे पक्की भवनसहितको जग्गा गौशाला नगरपालिका वडा नं ५ का रामप्रित साहलाई बिक्री गरेको बर्दिबास नगरपालिका वडा नं १४ अध्यक्ष भरत बहादुर हमालले बताए।
यस्तै, विगतमा विद्यालयले नै भोगचलन गर्दै आएको जग्गा मिलेमतोमा बिक्री वितरणका लागि अनुमति स्थानीय अभिभावकहरु बताउँछन्। एक व्यक्तिबाट अर्को व्यक्तिमा जग्गामा स्वामित्व हस्तान्तरण गर्न रकम लेनदेन गरेका कागजात भोगचलन गर्दै आएका व्यक्तिसँग रहेको छ।
पछिल्लो पटक विद्यालय व्यवस्थापन समितिको बैठकले २०७६ जेठ १५ गते विद्यालयको कानुनी स्वामित्व रहेको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेपछि अनियमितता बाहिर आएको हो। उक्त अवधिमा जग्गा खाली नगरीए स्थानीय प्रहरी/प्रशासन र स्थानीय तहको समन्वयमा संरचनाहरु भत्काउने तयारी गरिएक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।