डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका–७ को गाल गाउँका महिला तथा बालबालिकाका आफ्नौ कथा-व्यथा छन्।
वडा सदमुकामबाट करिब २ घन्टा पैदल दुरीमा पर्ने गालका बासिन्दालाई सुत्केरी अवस्थामा दूध, दही, माछामासु खानुपर्छ भन्ने चेतना निकै कम छ। खुर्सानी नहालेको खाना खानुपर्छ भन्ने 'परम्परा' समुदाय जीवित छ। जहाँ चोटपटक वा घाउ नै भएपछि स्वास्थ्य चौकी होइन, माटो प्रयोग गरेपछि ठिक भइहाल्छ भन्ने मान्यता कायम छ।
महिलाहरु गर्भवती भएका बेला ४ पटक स्वास्थ्य संस्थामा अनिवार्य नियमित चेकजाँच गर्नुपर्छ भन्ने उनीहरुलाई थाहा छैन।
जब बिरामी अन्तिम अवस्थामा पुग्छन्, तब मात्रै उनीहरु सम्झन्छन्- स्वास्थ्य संस्थालाई। यस्तो अवस्थामा स्वास्थ्य स्वयंसेविकाले कसरी चेतना भरिरहेका होलान्? यस्तैमा एक स्वयंसेविका हुन् कलुदेवी खड्का।
अजयमेरु गाउँपालिका ५ गाल (साबिसको देवलदिव्यपुर गाविस) निवासी कलुदेवीले स्वंयसेवीका रुपमा काम गरेकै २२ वर्ष पुग्यो।
श्रीमानलाई जेठी श्रीमतीले छोडेपछि आफू आएको उनी बताउँछिन्। तर कलुदेवीबाट सन्तान भएनन्। जेठीबाट जन्मिएका दुई छोरा तराईतिर बस्दै आएका छन्।
उनका श्रीमान् २२ वर्षअघि गाविस अध्यक्ष थिए। त्यही बेला उनी स्वंमसेविका भइन्। 'घरमा श्रीमान् र म मात्रै हौं। सामाजिक सुरक्षा भत्ता पाउन २ वर्ष बाँकी छ,' उनी भन्छिन्।
कलुदेवीले पढ्न पाइनन्। तर अहिले विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले उनलाई नाम लेख्न मात्र सिकाएका छैनन्। औषधि सेवन गराउने तरिकासम्मको ज्ञान दिएका छन्। बिरामीलाई कहाँ रिफर गर्नुपर्ने देखि रोग लाग्नुअघि गर्नुपर्ने सावधानीका बारे पनि उनलाई राम्रो ज्ञान छ। 'पहिले–पहिले औषधिबारे केही आउँदैन थियो। अहिले यो २२ वर्षको सामान्य स्वंमसेविकाले जानैपर्ने कुराहरु आउँछ,' उनी हाँस्दै भन्छिन्, 'अहिले त मलाई नाम पनि लेख्न आउँछ।'
टोलटोलमा आमा समुह छन्। समूहबाट नै स्वंयसेविका छनोट हुने गरेको छ। म नि:स्वार्थ सेवा गर्छु भन्नेहरुलाई पनि स्वंयसेवक तोक्ने गरिन्छ।
गाउँका स्वंमसेवीहरु ८ पास देखि १२ पास सम्मका र १६ वर्षबाट ४० नकटेका छन्। अजयमेरु गाउँपालिकाका अनुसार स्थानीय स्वास्थ्य संस्थाहरुमा मासिक स्वंयसेविका बैठक हुने गरेको छ। ६८ वर्षीया कलुदेवी देवल स्वास्थ्य चौकीमा नियमित बैठकमा सबैभन्दा ज्येष्ठ स्वंयसेविकाका रुपमा उपस्थित हुने गरेकी छन्।
स्वंमसेविकाहरुले वार्षिक रुपमा पोसाक र प्रोत्साहन भत्ता तथा करिब १० हजार पाउने गरेका छन्।
'बैठकमा मलाई बूढी असहाय भनेर हेप्छन्। अबबाट नआऊँ जस्तो लाग्छ तर सरकारले सम्मानसहित घर बिदा गर्ला कि भनेर छोडेकी छैन,' उनले भनिन्।
२२ वर्ष काम गरेकाले आफूलाई सम्मानसहित बिदा गर्नुपर्ने उनको माग रहेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।