सप्तरी– पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा सप्तरीमा १३ वर्षीय बालक पक्राउ परेका छन्। मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन्। अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो।
चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए। आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिए।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारबाही थालिएको प्रहरीले जनाएको छ।
बलात्कार आरोपमा पक्राउ
यसैबीच किशोरीमाथि सामूहिक बलात्कार भएको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सप्तरीको तिरहुत गाउँपालिका–४ का ३० वर्षीय मोहम्मद इद्रिस र १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए।
प्रहरी नायब उपरीक्षक मिश्राका अनुसार पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ।
शौचालयका लागि आइतबार राति घरबाट निक्लिएकी किशोरीलाई नियन्त्रणमा लिई एकान्त बगैँचामा लगेर बलात्कार गरेको पीडितले बताइन्। पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।