जनकपुर- सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ मा भ्रष्टाचार व्याप्त रहेको आरोप लगाएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टी कार्यालय भवनको समुदघाटन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
प्रदेश २ विकास बजेट समेत सही रुपमा सदुपयोग हुन नसकेको उनले बताए। उनले प्रदेश २ सरकार विकास गर्नुको सट्टो भ्रष्टाचारमा बढी लिप्त भएको कारण विकास हुन नसकेको आरोप लगाए।
प्रदेश २ मा अहिले २५ प्रतिशत रकम मात्र विकासमा काम हुने र बाँकी ७५ प्रतिशत रकम दामासाही रूपमा भागबण्डा लगाएर खाने गरेकाको नेपालले दाबी गरे। सोही कारणले पनि प्रदेश २ मा पर्याप्त विकास हुन नसकेको बताए। उनले भने “यहाँ ५० करोडमा ठेक्का लिएर अर्को ठेक्केदारलाई ४० करोडमा बेच्ने चलन छ। ३० करोडमा ठेक्का लिने ठेकेदारले के काम गर्छ र अनि कसरी मधेशको विकास हुन्छ? उनले प्रश्न गरे।”
सबैभन्दा बढी विकासको सम्भावना बोकेको प्रदेश २ मा अझै धेरै नागरिक निरक्षर र अस्वास्थ्य भएको कारण मातृ मृत्युदर र बाल मृत्युदर बढेको उनको भनाइ छ। नेकपा नेता नेपालले कार्याकर्ताहरुलाई भ्रष्टचारबिरुद्ध लाग्न आग्रह समेत गरेका थिए।
एक फरक प्रसंगमा चुरे क्षेत्रमा हुने दोहन नरोकेसम्म तराईका बस्ती सुरक्षित हुन नसक्ने बताउँदै चुरे संरक्षण गर्न लागि सरकार लागि परेको नेपालले बताए। उनले प्रदेश २ कृषि क्षेत्रका भएकाले सरकार कृषि क्षेत्रको क्षेत्रमा दिगो रुपमा योजना बनाएर लागिपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।