जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढेको बताएका छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुनको पूर्व तयारी सम्बन्धी बिहीबार जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विपद् जोखिम न्यूनीकरणको लागि मांसिक, भौतिक र प्राविधिक रुपमा तयार हुनुपर्ने बताए।
एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँछ, उनले भने, ‘अर्को निकायले उत्खनन गर्नको लागि आदेश गर्छ।'
प्रदेश २ का जिल्लाहरुमा भइरहेको अत्यधिक बालुवा, गिट्टी उत्खननबारे प्रहरी, प्रशासनलाई जानकारी भएपनि चासो नलिएको मुख्यमन्त्री राउतले आरोप छ ।
‘चुरे क्षेत्रमा स्काइभेटरको प्रयोग भइरहेको छ’ उनले प्रश्न गर्दै भने, – ‘चुरे कसरी संरक्षित हुन्छ?’ तराई–मधेशको लाइफलाइन रहेको चुरे विनास भएपछि यो क्षेत्र मरुभुमिमा परिणत हुने खतरा हुँदाहुँदै प्रहरी प्रशासनको मिलोमतोमा उत्खनन भइरहेको छ।
पूर्वपश्चिम राजमार्गमा रहेको धनुषाको कमला र महोत्तरीको रातु नदीमा स्काइभेटरको प्रयोग गरेर बालुवा, गिट्टी उत्खनन भइरहेको उनले बताए।
विपद् जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले प्राधिकरण बनाउने तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘बालुवा, गिट्टी उत्खनन सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएपनि स्थानीय तहलाई ठेक्काको अधिकार दिएर जटिल बनायो।’
विपद् जोखिम न्युनिकरण र पूर्व तयारीमा तीनै सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उनले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिए।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपद् आइसकेपछि व्यवस्थापन गर्नुको साटो पूर्व तयारी अवस्थामा रहनुपर्ने धारणा राखे। अन्तरक्रिया कार्यक्रममा पूर्वशिक्षा मन्त्री तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ गंगालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधानहरु र मनसुन पूर्व तयारी सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।