काठमाडौं- उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति सम्बन्धी विवादको अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा सुरु भएको छ।
मंसिर २८ गतेदेखि निरन्तर हेर्दाहेर्दैमा राखी सुनुवाइमा रहेको मुद्दामा आज सरकारी वकिल र निवेदकले जवाफ दिने कार्यसूची रहेको छ।
उनीहरुको बहसपछि सर्वोच्चले उक्त मुद्दामा आफ्नो निर्णय सुनाउनेछ। न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले उक्त मुद्दामा एक महिनादेखि निरन्तर सुनुवाइ गरिरहेको हो।
यसअघि निवेदक र विपक्षीका कानुन व्यवसायीले बहस गरेका थिए। निवेदक र सरकारी वकिलको जवाफी बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको थियो।
गत वर्ष पुस २९ मा उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्याई दलगत स्वार्थका आधारमा गरिएको भन्दै सरकारी वकिल कार्यालयका नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाश काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए।
न्याय परिषद्का दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिस भएको थियो। परिषद् बैठकमा तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजयशंकर नायक र परिषद् सदस्य पदमप्रसाद वैदिक मात्र उपस्थित भएको हस्ताक्षर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।