काठमाडौं- संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ। ७८ वर्षीय शर्मा उच्च रक्तचापका साथै मधुमेहबाट पीडित थिए।
शर्माले लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा आधारित मुनामदन नाटक, माधवप्रसाद घिमिरेको गौरी शोककाव्य,सत्यहरिश्चन्द्र,चलचित्र कुमारी, जीवन ज्योति, भानुभक्तका साथै श्रीस्वस्थानीमा समेत संगीत दिएका छन्। गायक तथा संगीतकार टीका भण्डारीका अनुसार शर्माले आफ्नो सांगीतिक जीवनमा ३५० भन्दा बढी आधुनिक गीतमा संगीत दिए।
पद्मोदय हाइस्कुल डिल्लीबजारबाट एसएलसी सकेका शर्माले त्रिचन्द्र कलेजबाट २०१८ सालमा बिकम उत्तीर्ण गरे। त्यसपछि भारतको इलाहावाद गएर उनले २०२१ सालमा संगीतमा बिम्यूज पूरा गरेका हुन्।
हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ, मनमा माया तनमा माया, सुनौला घाम झुल्केन, तिम्रो आकाशमा जुन जस्ता उनका गीत चर्चित छन्। उनका अधिकांश गीति नाटकको संगीतमा नारायणगोपाल र तारा देवीले स्वर दिएका छन्। गोपाल योञ्जन,फत्तेमान, प्रेमध्वज प्रधान, रविन शर्मा, कमला श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुदेशराज शर्मा, मीरा राणा, लोचन भट्टराई, सपना श्री, यम बराल, रामकृष्ण ढकाल, राजेश पायल राई लगायतले पनि शर्माको संगीतमा गाउने अवसर पाए।
नेपाल संगीत महाविद्यालयमा उनले संगीत सिकाए भने रत्न कलाकुञ्जका सचिव नै भएर जिम्मेवारी लिए। सांस्कृतिक संस्थानमा संगीत विज्ञको रुपमा उनी २०२९ सालदेखि कार्यरत थिए। र संगीत विभागको निर्देशक बनेर २८ वर्षपछि अवकाश लिए।
संगीतशिरोमणि यज्ञराज शर्माका माहिला छोरा रहेका शर्माका श्रीमती र दुई सुपुत्र नरेश र सुदेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।