सर्लाही- सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन्।
हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नम्बरको मोटरसाइकल र ज२प ७८८६ नम्बरको मोटरसाइकल एकापसमा गए राति करिब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै मोटरसाइकल चालक हुन्।
दुवै मोटरसाइकलमा चालकसहित ३/३ जना सवार थिए। मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएका सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए।
ना२५प ६९२२ नम्बरको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन्। दुवै जना स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन् भने ज२प ७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।