फिल्म ‘दुई रुपैयाँ’मा रहेको ‘कुटुमा कुुटु’ गीतले युट्युबमा सबैभन्दा धेरै हेरिने गीतका रुपमा रेकर्ड बनाएको छ। राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीत जम्मा ७ महिनामा चार करोडभन्दा बढी पटक हेरिएको छ। यो गीतले सबभन्दा चाँडो एक करोड, दुई करोड र तीन करोड पुग्ने गीतका रुपमा समेत रेकर्ड बनाएको थियो।
गीतसँग जोडिएका अरु पनि रोचक पाटो छन्। त्यसमध्येको सबैभन्दा सुन्दर कुरा, यो गीत सुनेर खैनी-चुरोट छाड्नेहरु भेटेका छन् सर्जक शिवाकोटीले।
उनी भन्छन्, ‘मैले हरेक गीतमा सन्देश मिसाउँछु। यसमा पनि खैनी-चुरोट खानेलाई गिज्याउन खोजिएको हो– खैनी-चुरोट खान्छौ कि दाँतै कालो छ, ओठै कालो छ भनेर।’
कति खैनी-चुरोटका अम्मलीलाई यही टुक्का गाएर निकटस्थहरुले गिज्याएपछि लाजले छाडेछन् भने कतिलाई गीत सुन्दै घोचेको रहेछ। शिवाकोटी विभिन्न कार्यक्रममा जाँदा यस्तो अनुभव सुनाउनेहरु भेटिरहेका हुन्छन्।
धेरैले कम्मर मर्काइसकेको र धेरैका ओठमा झुन्डिएको यो गीतको रचना उनले आफ्नो गाउँ दोलखा सुस्पा क्षमावतीको जंगलमा बसेर गरेका थिए, त्यो पनि ४–५ वर्षअघि नै।
उनी गीत रचना गर्दाको क्षण सम्झिन्छन्, ‘मेरो घरमाथिको जंगलमा एउटा मौवाको रुख छ। त्यसैका पातको डस्ना बनाउँदै ढुंगाको सिरानी राखेर आकाशतिर हेर्दै गीतको खेस्रा बनाएको थिएँ।’
गीतमा रहेको ‘डाँडाबारीको सुन्तला गुलियो छ कि अमिलो’ लेख्दा उनले आफ्नो घर रहेको डाँडाबारी सम्झेका थिए। यसैगरी गीतको अन्तरामै ‘सन्तान कालीनागैको’ उनको आफ्नै अर्थात् शिवाकोटीहरुको कुल देवता सम्झेर लेखेका थिए।
फिल्म ‘दुई रुपैयाँ’मा उक्त गीत राख्ने भएपछि उनी फेरि त्यही ठाउँमा पुगेर केही दिन बसे। गीतलाई फाइनल गरेपछि फर्किए। जुन गीतले सार्वजनिक हुनेबित्तिकै बजार ततायो।
पछिल्लो समय राजनराजका हरेक गीत चर्चित बनेका छन्। ‘सुर्के थैली खै’ एक करोडपल्ट हेरिने पहिलो गीत बन्यो। त्यसपछिको ‘पूर्वपश्चिम रेल’ पनि धेरैले रुचाए।
केही समयअघि मात्रै रिलिज फिल्म ‘कान्छी’को ‘चरी चट्ट परी’ पनि लगभग ६० लाखले युट्युबमा हेरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।