बंगलादेशको राष्ट्रिय फुटबल टिम।
काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ र एएफसी एएफसी कप २०२३ को छनोट प्रतियोगिताअन्तर्गत एसियाका ५ टिम दोस्रो चरणमा प्रवेश गरेका छन्।
पहिलो चरणको छनोटबाट गुआम, मंगोलिया, मलेसिया, बंगलादेश र कम्बोडिया दोस्रो चरणमा पुगेका हुन्। गुमामले भुटानलाई ५–१, मंगोलियाले ब्रुनाईलाई ३–२, मलेसियाले इस्ट टिमोरलाई १२–२, बंगलादेशले लाओसलाई १–० र कोम्बोडियाले पाकिस्तानलाई ४–१ ले पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका हुन्
पहिलो चरणको खेल होम एन्ड अवेको आधारमा भएको थियो। श्रीलंका र मकाउबीच मंगलबारका लागि तय भएको दोस्रो लेगको खेल भने स्थगित भएको छ। पहिलो लेगमा मकाउले श्रीलंकालाई १–० ले हराएको थियो। खेल श्रीलंकामा तय भएको थियो। यो खेलको विजेता पनि दोस्रो चरणमा पुग्नेछ।
दोस्रो चरणमा पहिलो चरण पार गरेका ६ टिम र एसिया वरीयताको शीर्ष ३४ टिम गरी ४० टिमबीच प्रतिस्पर्धा हुनेछ।
फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाको वरियताको आधारमा दोस्रो चरणमा पुगेको थियो। त्यतिबेला नेपाल एसिया वरीयताको ३४औं स्थानमा थियो।
४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिने दोस्रो चरणमा प्रत्येक समूहमा ५ टिम हुनेछन्। होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा समूह विजेता आठ टिम र ४ उत्कृष्ट समूह उपविजेता गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछ। यही १२ टिमले एसिया कप खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।