महाकालीमा बाढीको पूर्व सूचनाका लागि नेपाल–भारत संयुक्त कृत्रिम अभ्यास

ललित बोहरा | २०७६ जेठ २९ बुधबार | Wednesday, June 12, 2019 १२:३३:०० मा प्रकाशित

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–५ परशुराम धाममा महाकाली नदीमा बाढीको पूर्व सूचनाका लागि नेपाल–भारत सयुंक्त कृत्रिम अभ्यास गरिएको छ। 

बर्खायाम सुरु हुन केही हप्ता मात्रै बाँकी रहेका बेला बाढीबाट प्रभावित हुन सक्ने महाकाली किनारका बासिन्दाहरुलाई सचेत गराउन विभिन्न निकायको अग्रसरतामा बाढीको पूर्व सूचनाका लागि कृत्रिम अभ्यास गरिएको हो। नेपालको पश्चिमी सीमा महाकाली नदी क्षेत्रअन्तर्गत पर्ने समुदायमा सञ्चालित दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (ट्रोसा), स्वीडेन स्भेरिज, रुडुक डडेल्धुरा, निड्स नेपाल र अक्सफाम लगायतका साझेदार संस्थाहरुको सहयोगमा कृत्रिम अभ्यास कार्यक्रमको आयोजना गरिएको हो।

बर्खायाममा महाकाली नदिमा आउने बाढीबाट आफू कसरी बच्ने र नेपाल–भारत सीमा नदी महाकाली तटीय क्षेत्रमा अवस्थित समुदायका नागरिकहरुलाई कसरी बचाउने भनेर कृत्रिम घटना अभ्यास गराइएको ट्रोसा परियोजनाका कार्यक्रम अधिकृत अमर साँउदले जानकारी दिए। 

बाढी आउँदा नदीको सतह मापन गर्ने, माथिल्लो तटीय क्षेत्रका निकायहरुले तल्लो तटिय क्षेत्रका निकायहरुमा खबर गर्ने, साइरन बजाउने, सुरक्षित स्थानतर्फ सर्न खबर गर्ने, बहुमूल्य तथा अत्यावश्यक सरसामान झटपट झोलामा बोक्ने, उद्धार कार्यमा खटिन सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नेलगायतका कार्यहरुको अभ्यास गरिएको थियो।  

महाकाली तटीय क्षेत्रमा अवस्थित समुदायका नागरिकहरुले विगतमा महाकालीमा आउने बाढीबाट झेल्नुपर्ने जोखिम तथा समस्याहरुको हकमा पूर्व सूचना प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालन गरिदा जनधनको क्षति हुनबाट बच्न बेलैमा सजग गराइएको सहभागीहरुको भनाइ  थियो। 

साथै नेपाल–भारतका ५ वटै जिल्लाका विभिन्न क्षेत्रमा पूर्व सूचना प्रणालीमा कार्यरत सरोकारवाला व्यक्तिहरुकाबीच बाढीबाट प्रभावित हुने क्षेत्रका बारेमा नक्साङ्कन मार्फत छलफल समेत गराइएको थियो। दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र भारतिय चम्पावत जिल्लाका बिभिन्न सरोकारवाला निकायहरुको सहभागितामा कृत्रिम अभ्यास गरिएको हो।