राजविराज- खसीको भन्दै बाख्राको मासु बेचेर उपभोक्ता ठगी गर्ने राजविराजका केही व्यापारी पक्राउ परेर पनि कर्मचारी र अनुगमन टोलीकै सहयोगमा उम्किएका छन्।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाको नेतृत्वमा बुधबार राजविराज नगरपालिका क्षेत्रका मासु पसलको अनुगमन गरिएको थियो। मुन्ना मिट हाउस, मुस्ताख मासु पसल लगायत ८ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा खसीको भन्दै बाख्राको मासु बेच्ने तथा ताजा मासुमा कुहिएको र बासी मासु मिसाएर बिक्री गरेको पाइएको थियो।

टोलीले पसलको मासु तथा अन्य सामग्री जफत गरी व्यापारीलाई भने मुक्त गरेको छ। गलत गरेको पाइएपछि सचेत गराएर छोडिएको प्रशासकीय अधिकृत कोइरालाले बताए।
टोलीमा खाद्य निरीक्षक सुरेश सिंह, उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता, न्यायिक उपभोक्ता मञ्चका अध्यक्ष रामकुमार यादव, नगरपालिकाका प्रतिनिधि वडा नं ७ का वडा अध्यक्ष मागीलाल नाईका साथै प्रहरीको समेत सहभागिता थियो।

व्यापारका नाममा नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेका व्यक्तिलाई प्रशासनले उन्मुक्ति दिएकोमा नगरवासीले भने आक्रोश व्यक्त गरेका छन्। बजार अनुगमनका नाममा प्रक्रिया मात्रै पुर्याउने र व्यापारीकै पक्ष लागेर काम गर्ने कर्मचारीको उल्टो शैलीका कारण उपभोक्ता दिनप्रतिदिन ठगिनुपरेको नागरिक सञ्जालका अध्यक्ष सुखराम यादवले बताए।
'पैसा तिरेर रोग किन्नुपर्ने बाध्यता छ,' उनले भने, ‘प्रशासनले वर्षौंदेखि बजार अनुगमन त गर्छ तर जति पटक अनुगमन भएको छ, त्यति नै पटक सचेत गराएको मात्रै सुनेको छु। पैसाको लागि जनता मार्नसमेत पछि नपर्ने व्यापारीलाई सचेत मात्रै गरारहने हो भने कारबाही चाहिँ सर्वसाधारणलाई गर्ने?’

चाडबाड आएपछि अनुगमन थाल्ने सरकारी कर्मचारीको यस्तै शैलीका कारण बजारमा म्याद गुज्रेका अखाद्य पदार्थ र सडेगलेका वस्तुको बिक्री वितरण बढेको छ। ढक तराजुको ठाउँमा इँटा र ढुंगाको प्रयोग गरेर ठग्ने तथा मूल्यसूची नराखी जथाभावी रकम लिने गरेको उपभोक्ताको गुनासो छ।

उपभोक्ता ठगी गर्ने व्यापारीलाई कारबाही नभएको विषयमा जिज्ञासा राख्दा प्रशासकीय अधिकृत कोइराला भने ‘हिजोसम्मका कुरा थाहा नभएको र अब पनि फेला परे कारबाही गर्ने' बताउँछन्।
तर कोइराला तीन वर्षदेखि सप्तरीमै कार्यरत छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।