राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका ६, मलेठस्थित थारु सामुदायिक होमस्टे प्रयोगविहीन भएका छन्।
पर्यटन प्रवर्द्धन, थारु कला संस्कृतिको विकास तथा स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यका साथ १४ महिनाअघि ७ वटा होमस्टे निर्माण गरिएका थिए। तर, आवश्यक पूर्वतयारी र अध्ययन बिना सुरु गरिएका कारण सम्पूर्ण होमस्टे पर्यटक अभावमा प्रयोगविहीन जस्तै छन्।
होमस्टे सञ्चालनको लागि चाहिने पर्याप्त आर्थिक स्रोत, तालिम, सीप, प्रचारप्रसार र प्रवर्द्धनको पनि कमी भएको स्थानीयहरु बताउँछन्।
सासेक रोड कनेक्टिभिटि प्रोजेक्ट एकीकृत विकास समाज नेपाल (आइडिएस नेपाल)को सहयोगमा एक वर्षअघि होमस्टे निर्माण गरिएको थियो। होमस्टे निर्माणमा संस्थाले २५ प्रतिशत सहयोग गरेको थियो। प्रतिघर ३० हजार रुपैयाँ सहयोग गरेको संस्थाका तत्कालिन बायोलोजिकल डाइभर्सिटी कन्जर्भेसन एक्सपर्ट नन्दलाल माझीले जानकारी दिए। गत डिसेम्वरदेखि सहयोगी संस्थाको पनि म्याद समाप्त भएपछि सञ्चालकहरु अन्यौलमा परेका छन्।
प्रतिघर सरदर डेढ लाखका दरले खर्च भए पनि पर्यटक नआउँदा अन्योलता बढेको होमस्टे नम्बर ४ का सञ्चालक देवप्रसाद चौधरीले बताए।
किन चलेनन् होमस्टे?
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरबाट उत्तरतर्फ करिब ५/७ किलोमिटर दूरीमा छ मलेठ। मिश्रित बसोबास रहेको मलेठमा पुरानो आदिवासी समुदायमध्ये थारु जातिको पनि बसोबास छ। छुट्टै रहनसहन, भेषभुषा, संस्कार, संस्कृति, भाषा रहेकाले त्यसको संरक्षणकै लागि होमस्टे सञ्चालनमा ल्याइएको थियो।
थारु संस्कृति तथा नजिकै रहेको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्षलाई मध्यनजर गरी होमस्टे सञ्चालन गरिएको थियो। ५ सय ८७ प्रजातिका नदी तटीय वनस्पति, ४ सय ४१ अर्ना, जङ्गली हात्ती, सालक, ४० प्रजातिका स्तनधारी जनावर, खरमुजुर, कालो भुँडीफोर, सेतो भुँडीफोरलगायत ७ सय २६ प्रजातिका चरा, १ सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतली पाइने आरक्षका कारण होमस्टे सञ्चालनमा सहजता हुने अनुमान थियो।
यसका अतिरिक्त सुनसरीको चतरा धाम र वराह क्षेत्रलगायतका पर्यटकीय क्षेत्र घुम्ने पर्यटकले पनि मलेठको होमस्टे प्रयोग गर्ने अनुमान गरिएको थियो।
तर, सम्भावनाहरुको अध्ययन नै नगरी सञ्चालन गरिएका कारण होमस्टे प्रयोगमा आउन नसकेको स्थानीयहरुको निष्कर्ष छ। वडाध्यक्ष जिव्रिल मियाँ पनि स्थानीयको भनाइमा सहमत छन्। ‘कोशीटप्पु वन्यजन्तु आरक्षको मुख्य प्रवेश मार्ग सुनसरीमा छ। घुम्न आउने अधिकांश मानिस उतैको मार्ग प्रयोग गर्छन्,’ उनले भने, ‘सम्भावना नै नभएको ठाउँ र ब्याक साइडमा भएकाले होमस्टे प्रयोगमा समस्या देखियो।’
पाहुनालाई भागवण्डा
विष्णुदेव चौधरी, महिकर चौधरी, चन्द्रिका चौधरी, पानावती देवी चौधरी, चन्द्रकला चौधरी, देवप्रसाद चौधरी र भुलीदेवी चौधरीले गत वर्ष बैसाखदेखि नै होमस्टे सञ्चालन सुरु गरे।
२०७५ बैसाख २ गते औपचारिक कार्यक्रमनै आयोजना गरेर सुरु गरिएको होमस्टे पुष १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता पनि भयो। तर, सोचअनुसार पर्यटक/पाहुना नआउँदा उनीहरु निरास छन्।
पछिल्लो १४ महिनामा प्रति घर ४/५ जनाका दरले २५ देखि ३० जना पाहुना आएको उनीहरु बताउँछन्। ‘एक पटक २ र अर्को पटक ४ गरी ६ जना आए,’ होमस्टे सञ्चालक देव प्रसादले भने, ‘त्यसपछि मान्छेको आउजाउ बन्द छ।’
अहिले लगानी पनि असुल हुन्छ की हुँदैन भन्ने अवस्था आएको होमस्टे सञ्चालकहरु गुनासो गर्छन्।
पाहुना कम भएपछि पालो बाँड्नुपर्ने अवस्था आएको पानोवती चौधरीले बताइन्। ‘सबैलाई पालो पुर्याउँदा ४/५ जनाका दरले बसायौं,’ उनले भनिन्, ‘६/७ हजार आम्दानी भयो।’
आइडिएस नेपालका एक्स्पर्ट माझीले भने सुरुवाती चरणमै रहेको र ५ वर्षभित्र मलेठको होमस्टे नमुना बन्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।