काठमाडौं– यतिबेला बंगलादेशमा हिन्दू समुदायमाथि कट्टरपन्थी समूहद्वारा दैनिक हिंसाका घटना भइरहेका छन् । विद्यार्थी नेता हादीको हत्यापछि भालुका जिल्लामा दीपु चन्द्र दासको इस्लामिक नारा लगाउँदै हत्या गरिएको घटनाले सर्वत्र चर्चा पाइरहेको छ ।
जहाँ हिन्दूहरु अल्पसंख्यक हुँदै गएका छन्, त्यहाँ कट्टरपन्थीहरुद्वारा कसरी विस्तारै सफाया गरिँदैछ भन्ने कुरा पछिल्लो एक वर्षको बंगलादेश हेरे पुग्छ । भारत–पाकिस्तान विभाजनपछि पूर्वी पाकिस्तानका रुपमा बंगलादेश बन्यो । तर सन् १९७१ मा पाकिस्तानी सेनाको अत्याचार चरम अवस्थामा पुगेपछि भारतको सहयोगमा बंगलादेश पाकिस्तानबाट अलग्गिएर छुट्टै देश बन्यो ।
सुरुवाती चरणमा करिब ३० प्रतिशत रहेका हिन्दूहरु अहिले बंगलादेशमा करिब ७ प्रतिशतमा झरेका छन् । केहीलाई जबरजस्ती मुस्लिम धर्म परिवर्तन गरियो भने केही भाग्न बाध्ये भए । यस्तै पाकिस्तानमा पनि छुट्टिने बेला करिब २५ प्रतिशत हिन्दूहरु रहेकामा अहिले १ प्रतिशतभन्दा कम छन् ।
द ट्रिब्यूनको रिपोर्ट अनुसार पाकिस्तानको रावलपिन्डीमा आजको समयमा मात्र ५ हजार ११३ हिन्दू बचेका छन् । यता पाकिस्तानको राजधानी इस्लामावादमा मात्र १४१ परिवार हिन्दू रहँदै आएका छन् । यस्तै रावलपिन्डीमा ३ वटा मात्र हिन्दू मन्दिरहरु बचेका छन् । जहाँ पूजा हुँदै आएको छ, जसमध्ये एक कृष्ण मन्दिर (सदर क्षेत्रमा), बाल्मिकी मन्दिर (ग्रेसी लाइन्स) र लाल कुर्ती मन्दिर बचेका छन् ।
कुनैबेला रावलपिन्डी हिन्दूहरुको सहर थियो । मन्दिरहरुको कुनै कमी थिएन । तर अब यहाँ हिन्दूहरुको पहिचान करिब करिब मेटिएको छ । रावलपिन्डी सहरको इतिहास करिब एक हजार वर्षभन्दा पुरानो हो ।
कुनैबेला यो सहर हिन्दू सभ्यताको केन्द्र थियो । त्यसबेला यहाँ रहने हिन्दूलाई कसैले ‘तिमीहरुको अस्तित्व यस सहरबाट मेटाइनेछ’ भन्यो भने हाँस्दै यस्ता दाबी गर्नेहरुको उपहास गरिन्थ्यो । १९४७ अघि यो सहर मन्दिर, धर्मशाला र हिन्दू बहुल क्षेत्रले भरिपूर्ण थियो । पाकिस्तानी अखबार द ट्रिब्यूनको रिपोर्टअनुसार १९४३ को जनगणनाअनुसार रावलपिन्डीमा ८२ हजार १ सय १७८ हिन्दू, ४७ हजार ९ सय ६३ सिख र २२ हजार ४ सय ६१ मुस्लिम थिए ।
त्यसबेला रावलपिन्डीमा ३९ मन्दिर, १४ गुरुद्वारा, १२ मशानघाट र ११ धर्मशाला थिए । डिंगी खोई, पुरानो किला, जामिया मस्जिद रोड, नेहरू रोड (हाल गजनी रोड), सद्दर र रेलवे रोड जस्ता क्षेत्रमा हिन्दू बसोबास प्रमुख थिए ।
तर जब १९४७ मा भारत विभाजनपछि स्थिति तीव्र रुपमा बदलिन थाल्यो । हिन्दू समुदायलाई मारपिट गर्दै भगाउने, उनीहरुको सम्पत्ति कब्जा गर्ने र छोरी चेलीको अस्मितामाथि जबरजस्ती गर्ने क्रम चल्यो । त्यसबेलाको जनसंख्या मध्ये मध्ये जतिलाई जबरजस्ती निकालियो । हिन्दूहरुलाई भगाइएपछि केही हजारको संख्यामा शिखहरु बचेका थिए । उनीहरुलाई हिन्दूहरुको क्षेत्रमा बसाइयो ।
विस्तारै विस्तारै रावलपिन्डीमा फारसी समुदायका मानिसहरुलाई भगाउन थालियो । फारसीहरु केही कराँची र केही भारत र इरानमा भागेर आफ्नो ज्यान बचाउन बाध्य भए । अहिले रावलपिन्डीमा फारसीहरुको करिबकरिब नामोनिशान छैन ।
द ट्रिब्युनको रिपोर्ट अनुसार हाल रावलपिन्डीमा मात्र ३ हजार ११३ परिवार हिन्दू बचेका छन् । यता इस्लामावादमा त १४१ परिवार मात्र बचेका छन् । बचेका तीनवटा मन्दिरहरु पनि खण्डहरमा परिणत भइरहेका छन् । यी बाहेक कल्याण दास मन्दिर, देवी मन्दिर (कोहाटी बजार), र पुरानो किला मन्दिर पूरै तरिकाले बन्द गरिएको छ । साथै हाल यी मन्दिरहरुमा पूजा मात्र होइन, हिन्दूहरुलाई प्रवेशमा पनि अनुमति छैन । यी बाहेक हिन्दू समुदायका लागि अहिले कुनै धर्मशाला या मशानघाटसमेत उपलब्ध छैनन् ।
यद्यपि मेडिकल युनिभर्सिटी अगाडि, टीपु रोड नजिक एक ८० वर्ष पुरानो मशानघाट भने छ । तर यहाँ पनि हाल स्थानीय मुस्लिमहरुले हिन्दूहरुको दाहसंस्कारमा रोक लगाएका छन् । यदि यहाँ कुनै हिन्दूहरुको दासंस्कार गर्नुपर्योा भने पनि बाक्लो प्रहरीको घेरा आवश्यक पर्छ । १९४७ अघि सहरमा ९ वटा ठूला हिन्दू र शिख विद्यालयसमेत सञ्चालनमा थिए । जसको नियन्त्रण अहिले पाकिस्तान सरकारको हातमा छ । करिब एक शताब्दीसम्म रावलपिन्डीमा बोलबावाला रहेका हिन्दू समुदाय अहिले अन्त्यको नजिक छन् । स्थानीय मुस्लिमहरु मात्र होइन, सरकार पनि हिन्दूहरुमाथि हुने बर्बरताको मुखदर्शक बनेर बसिरहेको छ ।
पहिचान बचाउन संघर्ष
हिन्दू–शिख वेलफेयर काउन्सिलका अध्यक्ष सरदार हीरालालले ट्रिब्युनसँगको कुराकानीमा मन्दिरहरुको जीर्णोद्वारका लागि रकम आवश्यक रहेको बताए । उनले भने, ‘सबैभन्दा ठूलो समस्या त मशानघाट नहुनु हो । हामी अनुरोध गर्छौं कि बरु सहरभन्दा बाहिर मशानका लागि जमिन दिइयोस् । जहाँ एक धर्मशाला र पूजाआजाका लागि एक मन्दिर बनाउन सकौं ।’
उनले अघि भने, ‘हामी इमान्दार पाकिस्तानी हौं । यहाँ पुर्खा यहिँ जन्मिए । १९४७ पछि भारतले आकर्षक अफर पनि दिएको थियो । तर हामीले हाम्रो माटो छोड्न सकेनौं ।’ लाल कुर्ती मन्दिरका संरक्षक तथा हिन्दू–मुस्लिम–शिख युनियनका अध्यक्ष ओमप्रकाश नारायणले समुदायका लागि ७ देखि १० प्रतिशतसम्म रोजगारी र शिक्षा कोटा आवश्यक रहेको बताए । यसका साथै बन्द गरिएका मन्दिर खोलिनुपर्ने र त्यहाँ हिन्दूहरुलाई त्यहाँ पूजा तथा रेखदेख गर्न दिनुपर्ने माग गरेका छन् ।
उनले भने, ‘मुस्लिम समुदायले खासगरी दीपावली र होली जस्ता पर्वमा धेरै सम्मान र सहयोग देखाएका छन् । ’ कुनै बेला समृद्ध हिन्दू विरासत बोकेको रावलपिन्डीमा यतिबेला हिन्दूहरुलाई आफ्नो पहिचान जोगाउन पनि हम्मेहम्मे परेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।