पोखरा– नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् ।
संघीय महिला बालबालिका मन्त्री र गण्डकी प्रदेशकोसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तरघात गरेको आरोपमा निष्कासन गरेपछि आज रास्वपा प्रवेश गरेका हुन् ।
उनीहरूलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले पार्टीमा स्वागत गरे ।
क्षेत्रीहरूको आन्दोलनको जगमा गठन भएको अखण्ड नेपाल पार्टीबाट १ जनामात्र समानुपातिक सांसद बनेर संघीय संसद छिरेका खड्का २०७४ को चुनावअघि कांग्रेसमा विलय हुँदै गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्री बनेका थिए ।
कांग्रेसले आफ्ना उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको भन्दै निष्कासन गरेको थियो । साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेर कारबाही गरेपछि उनी रास्वपा जान लागेका हुन् ।
अहिले उनको पनि कारबाही फुकुवा भइसकेको छ तर आफूले निर्णय लिइसकेको भन्दै कांग्रेस नफर्किने भन्दै खड्का रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपा प्रवेश गर्न लागेकी कांग्रेस महाधिवेशन प्रतिनिधि थापा अहिले गण्डकीका सामाजिक विकास मन्त्री रहेका विन्दुकुमारकै भाइबुहारी हुन् ।
विन्दुकुमारका भाइ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्वअध्यक्ष ध्रुव पत्नी कांग्रेसकै पारिवारिक विरासत त्यागेर रास्वपा प्रवेश गर्ने भएकी छन् । कांग्रेस मन्त्री विन्दुकुमार परिवारकै सदस्य रास्वपा प्रवेश गर्ने विषयलाई कास्कीमा धेरैले चासोका साथ हेरेका छन् ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित धुर्वको घर तथा व्यावसायिक प्रतिष्ठानमा पनि तोडफोड र आगजनी भएको थियो ।
मन्त्री परिवार भएकै कारण आफूहरूको व्यवसाय तथा घरमा आगलागी भएको उनीहरूको भनाइ थियो भने उनीहरूकै घरमा काम गर्ने एक जना महिलाको आगलागीमा जलेर मृत्युसमेत भएको थियो ।
रास्वपा प्रवेश गरेका अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक पनि हुन् । एमालेबाट अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी थिए । अधिकारी अघिल्लो पटक एमालेको गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए । अधिकारी एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्थे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।