विराटनगर– कोशी प्रदेशको भद्रपुर विमानस्थलमा शुक्रबार बुद्ध एयरको जहाज रन–वेबाट चिप्लिएको छ । प्रारम्भिक जानकारीअनुसार, जहाज चिप्लिएर धावनमार्गबाट केही बाहिर पुगेको हो । जहाजमा क्षति पुगे पनि यात्रु र चालक दलमा कुनै चोटपटक नभएको बताइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जहाज रन-वेभन्दा बाहिर गएको भए पनि यात्रु र चालक दल सुरक्षित छन् । तर, जहाजमा क्षति पुगेको छ ।
जहाज अवतरणको क्रममा रन–वेबाट केही तल चिप्लिएको थियो । काठमाडौं–भद्रपुर उडान ९०१ नम्बरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको जनाइएको छ ।
अहिले यात्रु ओराल्ने प्रक्रिया चलिरहेको छ । सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । भद्रपुर विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार अहिले उद्धारको कार्य जारी छ । यो उडान नम्बर ९०१ काठमाडौंबाट ५१ यात्रु लिएर उडेको थियो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्रारम्भिक जानकारीअनुसार ५१ जना यात्रु सकुशल छन् । चालक दलबारे जानकारी आएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल कार्यालयका अनुसार, यो घटना ८ बजेर २० मिनेटमा भएको हो । बुद्ध एयरका निर्देशक रुपेश जोशीले जहाज हिलोमा परेर क्षति भएको प्रारम्भिक जानकारी आएको भन्दै यात्रु र चालक दलका सबै सकुशल रहेको बताए । उनले जहाज चिप्लनुको कारण मौसम हुन सक्ने बताए ।
यो बुद्धको अन्तिम उडान थियो । यो जहाज राति त्यहीं बसेर भोलि बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाज हो । काठमाडौंबाट गएको एटीआर धावनमार्गको एक जीरो विन्दुबाट अवतरण भएको थियो भने पूर्वतर्फ २८ नम्बर विन्दुबाट बाहिर गएको थियो । यो विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।