काठमाडौं- अमेरिकाले थाइल्यान्डलाई १३-० गोलले पराजित गर्दै फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा रेकर्ड बनाएको छ।
मंगलार राति भएको खेलमा सन् २०१५ को च्याम्पियन अमेरिकाले पहिलो हाफमा ३ गोल गरेको थियो। दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको अमेरिकाले थप १० गोल गर्यो।
अमेरिकाका लागि एलेक्स मोर्गानले ५ गोल गरेकी थिइन्। रोस लभेनी र समान्थ मेविसले २-२ गोल गरे। लिन्से होरान, मेगन रापिनोए, मालोरी पग र कर्ली लोर्डले १-१ गोल थपे।
विश्वकपमा यसअघिको ठूलो अन्तरको जित जर्मनीले निकालेको थियो। जर्मनीले सन् २०११ मा अर्जेन्टिनामाथि ११-० को जित हात पारेको हो।
यता अमेरिकाले विश्वकपमा अहिलेसम्मकै ठूलो जित हात पार्यो। अमेरिकाले यसअघि चाइनिज ताइपेईमाथि ७-० को जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।