रामेछापको मन्थली नगरपालिका–११ गेलुमा रहेको सारदा माविको पुनर्निमाण गरिएको भवन।
काठमाडौं- हालसम्म भूकम्प प्रभावित ४ हजार ६ सय ४७ विद्यालयको पुनर्निर्माण सम्पन्न गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहले मंगलबार यहाँ संयुक्त रुपमा आयोजना गरेको भूकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्था विषयक छलफल कार्यक्रममा १ हजार ६ सय १५ विद्यालय बनिरहेका जानकारी दिइयो।
प्रभावित ३ सय ९८ विद्यालय निर्माणका लागि छनोट मात्र भएका छन्। विसं २०७२ बैसाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुगेको थियो। भूकम्पले २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण रुपमा, १२ हजार ५ सय २२ अधिकरुपमा र १५ हजार ९ सय ९० कक्षाकोठा आङ्शिक रुपमा क्षति भएका थिए। क्षति भएकामध्ये ३ सय ७० विद्यालय गाभिएका छन्।
कार्यक्रममा एकाइका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जग्गा नभएका विद्यालयमा पुनर्निर्माणमा समस्या भएको बताए। यस्ता विद्यालय भवन बनाउन स्थानीय सरकारले सार्वजनिक जग्गाको अनुमति दिए पुनर्निर्माण गर्न सकिने उनको भनाइ थियो।
ढुङ्गा माटाको भूकम्प प्रतिरोधी विद्यालय भवन पनि बनाउन सकिने गरी नयाँ मापदण्ड आउने तयारी अन्तिम चरणमा पुगेको निर्देशक श्रेष्ठले जानकारी दिए।
एकाइका वरिष्ठ डिभीजनल इञ्जिनियर दिलीप श्रेष्ठले ८० प्रतिशत विद्यालय व्यवस्थापन समितिबाटै बनाउनुपर्ने बाध्यता रहेको बताए। विद्यालय भवन पुनर्निर्माणमा राष्ट्रिय भवन संहिता अनिवार्य रुपमा पालना गरिएको उनले सुनाए।
विद्यालय भवन पुनर्निर्माण भइरहेका बेला प्राविधिकबाट निरन्तर निरीक्षण गराइएको एकाइले जनाएको छ। विद्यालय भवन ढलानका बेला विशेष ध्यान दिइएको छ। पाकिस्तानमा भूकम्ले ढलान झर्दा धेरै विद्यार्थीको दुःखद् निधन भएकाले त्यसको पाठले ढलान अझ बलियो बनाउन निर्देशन दिइएको छ।
सो अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक एवं व्यवस्थापन समितिका अध्यक्षले आइपरेका समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।